ज्यामिरेमा अस्थायी प्रहरीचौकी स्थापना



सवारी दुर्घटना न्यूनीकरण, शान्तिसुरक्षा कायम तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुनवल नगरपालिका–७ ज्यामिरेमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय तथा प्रहरी प्रधान कार्यालयको स्वीकृतिमा जिल्ला प्रहरी कार्यालय परासीले सुनवल नगरपालिकाको सहयोगमा प्रहरीचौकी स्थापना गरेको हो ।

स्थानीयवासीको लामो समयदेखिको माग र पहलबाट स्थापित प्रहरीचौकीको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा र उपप्रमुख दधिराम अर्याल तथा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

रुपन्देहीको सिमानासँग जोडिएको र पूर्वपश्चिम राजमार्गमा पर्ने ज्यामिरे चोक सुरक्षाको हिसाबले संवेदनशील रहेकाले स्थानीयवासीको माग तथा प्रहरीको सहज पहुँचबाट समेत टाढाको क्षेत्रमा चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।

नाइट भिजन सिसिटिभीसमेत जडान गरी स्थापित चौकीका माध्यमबाट शान्तिसुरक्षा र अमनचयन कायम गर्न स्थानीयवासीको पूर्ण सहयोग र समर्थन प्राप्त हुने विश्वास उनले व्यक्त गरे । ज्यामिरेबाट देवदहताल हुँदै रामग्राम स्तूप जोड्ने, भारतीय सीमा नाकाबाट चोरी तस्करी गरी यसै क्षेत्रको प्रयोग गर्ने र विगतमा ठूला सडक दुर्घटना हुने गरेकाले पनि यहाँ चौकीको अनिवार्य आवश्यकता महसुस गरिएको नगर उपप्रमुख अर्यालले बताए ।

प्रमुख जिल्ला अधिकारी पाठकले प्रहरी र नागरिकको साझेदारीमा मात्रै शान्तिसुरक्षा कायम गर्न सकिने बताए । सुनवल नगरपालिकाको सहयोगमा हाललाई तीनकोठे भवन निर्माण गरिएको छ । उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा दुई ट्राफिकसहित नौ प्रहरी कर्मचारी खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्