प्रियंकाको प्रश्न– ‘के महिला कलाकार सम्मानको लायक छैनन्’ ?



कोरोनाको कारण नेपालमा पनि लकडाउन भयो । लकडाउन भएपछि फिल्म क्षेत्र ठ्याप्पै बन्द भयो । तर गसिपमुक्त भने हुन सकेन । गएको ४ महिनामा नेपाली चलचित्र क्षेत्रमै थुप्रै काण्ठहरु आए ।

कहिले बर्षा राउत त, कहिले दिपाश्री निरौला, कहिले भुवन साम्राज्ञी विवाद त कहिले पूजा प्रकाशको झगडा । फिल्म क्षेत्र कत्तिपनि सेलाएन यस लकडाउन बिच । सबैजना फुर्सदमा भएका कारण पनि कलाकारले धेरै आलोचना खेप्नुपर्यो ।

एउटा विवाद सेलाउन नपाउँदै यहाँ अर्को विवाद उत्पन्न भएकै छ । अहिलेकै कुरा गर्ने हो भने पनि पूजा र प्रकाशको विवाद सेलाउन नपाउँदै नायिका प्रियंका कार्कीले एक मिडियाले उनको बारेमा लेखेको कुरामा आपत्ति जनाएकी छिन् ।

उनले आजभोली चलचित्र जगतमा महिला कलाकारको इज्जत गर्न छोडिएको भन्दै गुनासो पोखेकी छिन् ।

एक सञ्चारमाध्यमले विवाह अगाडि विग्रिएकी अभिनेत्री प्रियंका कार्की विवाहपछि संस्कारी भएको भनेर प्रकाशन गरेको समाचारप्रति महिला कलाकारहरुले विरोध जनाएका छन् । उक्त समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै प्रियंकाले फेसबुकमा लामो स्टाटस लेख्दै महिला कलाकारहरु निरन्तर साँघुरो मानसिकताको शिकार भएको देख्दा चिन्ता लाग्ने गरेको बताएकी छन् ।

हुन पनि एक महिलाको चरित्र उसले लगाएको कपडा र उसले फेसबुकमा अपलोड गरेका तस्बिरले तय गर्न सक्दैन । यो सरासर गलत हो । स्वतन्त्र भएर बाँच्न पाउने अधिकार सबैलाई छ । छोटो कपडा लगायो भन्दैमा कुनैपनि नायिकालाई संस्कारी छैन भन्ने वाक्य प्रयोग गर्नु नै अनुचित छ ।

प्रियंकाले महिला कलाकारहरु सम्मानको लायक छैनन् ? भन्दै प्रश्न पनि गरेकी छिन् । उनको प्रश्न जायज छ । प्रियंकाभन्दा अगाडी पनि केही नायिकाले लगाएको पहिरनकै आधारमा उनीहरुको चरित्रमाथि प्रश्न उठाइएको छ । यसबारे नेपाली चलचित्र क्षेत्रका महिला कलाकारले प्रियंकाले जस्तै आवाज उठाउन आवश्यक छ ।

प्रियंकाको स्टाटस जस्ताको तस्तै-

के तपाईँका छोरी-चेली संस्कारी छन्?
छैनन्? बिहे गरिदिनुस…. शरीर ढाकिदिनुस…. चुलो चौको गरे र शरीर ढाकिदिए बल्ल छोरीहरु संस्कारी हुन्छन्….
सपना नदेखाउनुस… ‘करियर’ र ‘एम्बिसन’ जस्ता कुरामा नअल्झाउनुस… चुलो धाने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ…. बिहे नटिके ‘समाजले कुसंस्कारी भन्छ फेरि’…..
धन्यवाद नागरिक परिवार, अब समाज साँच्चै सुध्रने छ…..संस्कारी बन्नेछ…..
विगत केही समय यता, हामी महिला कलाकारहरु निरन्तर यस्ता साँघुरो मानसिकताको शिकार बन्दै गएको देख्दा चिन्ता त लाग्छ नै, साथै एक किसिमको डर पनि लाग्छ। डर यस कारण पनि कि, हामी बिच यस्ता साँघुरो सोच भएका मान्छे मात्र छैनन्, ति मान्छेहरु पुरै समाजलाई ‘influence’ गर्न सक्ने ठाउँमा समेत छन्। कहिले आफ्नो द्वेश पुरा गर्न त कहिले इर्श्या, केही पत्रकार देखि कलाकार स्वयम् र आम जनता समेतको निरन्तर निशानामा हामी बाँचिरहेका छौँ। कहिले ‘बिक्ने समाचार’ बनेर त कहिले ‘हिजो आएकाले हेप्ने’ भन्दै, हामी समाजलाई ‘महिला कलाकारहरु’ तर्फ झनै नकारात्मक बनाउँदैछौँ।
के हामीमा अब ‘social responsibility’ सकिएकै हो त?
आम जनमानसले त्यही बुझ्छ, जे देखाइन्छ। के महिला कलाकार सम्मानका लायक छैनन्?
के हामी ‘बिक्ने समाचार’ र ‘हट गसिप’ मै सिमित छौँ??????

प्रतिक्रिया दिनुहोस्