कोरोनाका कारण भएको लकडाउनले गर्दा ३० हजार चलचित्रकर्मी बने बेरोजगार



२१ साउन २०७७, काठमाडौँ

नेपाली चलचित्र क्षेत्र सानो छ । वि.सं. २०७२ सालमा गएको बिनासकारी भूकम्पका चलचित्र चलचित्र क्षेत्र लथालिङ्ग भएको थियो । त्यसपछि बल्ल बल्ल उकालो लाग्दै गरेको फिल्म क्षेत्रलाई एकपटक फेरि कोरोनाले तल झारिदिएको छ । कोरोनाका कारण करिब ५ महिनासम्म भएको लकडाउनका कारण नेपाली चलचित्र उद्योगमा निकै नराम्रो असर परेको छ ।

रिलिजको तयारीमा रहेका देखि, छायांकनमा रहेका र छायांकनमा रहेका सबै चलचित्रको काम रोकियो ।

अझैपनि केहीसमय चलचित्र क्षेत्र खोल्ने सरकारको तयारी छैन । किनकी फिल्म हलहरु भनेको मानिसहरुको अत्याधिक चाप हुने क्षेत्र हो । जसका कारण कोरोना अझै फैलिन सक्छ ।

चलचित्रको सम्पूर्ण काम डामाडोल हुदाँ यतिबेला ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । झन् चलचित्रमा काम गरेकै भरमा परिवार चलाइरहेका चलचित्रकर्मीहरुको त बिजोग नै भएको छ ।

चैतदेखि जेठसम्मको तीन महिनामा झण्डै २५ फिल्म निर्माण पूरा गरी सञ्चालन गर्ने तयारी भए पनि लकडाउनका कारण उक्त फिल्म सञ्चालन हुन पाएनन् । नेपालमा विसं २०७५ मा ९५ र विसं २०७६ मा ५५ फिल्म सञ्चालनमा आएका थिए ।

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले  एक अर्बभन्दा बढी लगानी भएको फिल्म उद्योग कोरोनाका कारण प्रभावित भएको बताए । “फिल्म निर्माताले बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम ऋण लिएर फिल्म निर्माण गरे पनि फिल्म सञ्चालन नहुँदा समस्या परेको छ”, उनले भने ।

कोरोनाका कारण प्रभावित बनेको चलचित्र उद्योगलाई पूर्ववत् अवस्थामा फर्काउन नेपाल चलचित्र निर्माता सङ्घले फिल्म उत्पादनमा लाग्ने खर्चको २० प्रतिशत लगानी सरकारलाई गर्न आग्रह गरेको छ ।

“करोडौँ रकम खर्च गरेर बनाएको फिल्म नचले पनि सरकारले २० प्रतिशत लगानी ग्यारेन्टी गरिदिएको खण्डमा चलचित्र निर्मातालाई केही भए पनि राहत पुग्नेछ”, अध्यक्ष अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्