कैलालीमा बाढीको वितण्डा : चार जना बेपत्ता, दुई जनाको सकुशल उद्धार



१४ साउन २०७७ काठमाडौं । कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि चार जना बेपत्ता भएका छन्। कैलालीको भजनी नगरपालिकाका चार जना बेपत्ता भएका हुन्।

इलाका प्रहरी कार्यालय भजनीका अनुसार ११ वर्षीय बालक स्केल चौधरीसहित चार जना बेपत्ता भएका छन्। कार्यालयका प्रहरी निरीक्षक जनक धामीका अनुसार विभिन्न स्थानबाट उनीहरू बेपत्ता भएका हुन्। अन्य दुई जनाको भने सकुशल उद्धार गरिएको उनले बताए।

कान्द्रा, काँडा र पथरैयालगायतका नदीमा पानीको बहाब बढेपछि कैलालीको भजनी, टीकापुर, लम्की र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन्।

भजनी नगरपालिकाका धेरैजसो वडाका बस्ती डुबेका छन्। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय युवा जुटेका छन्। पुथ्वीपुर प्रहरी चौकीका इञ्चार्ज चंख कठायतले लालबोझीका ६० जनालाई उद्दार गरेर विद्यालयमा राखिएको बताए। उनले कान्द्रा र मोहना नदीमा पानीको सतह बढिरहेकाले उद्धार कार्यमा निकै कठिनाइ भैरहेको जानकारी दिए।

सोनाहाफाँटा प्रहरी चौकीले उद्धार सामाग्री नभएका कारण बाढीमा फसेका व्यक्तिको उद्धारमा समस्या भएको बताएको छ। त्यहाँ कार्यरत एक सुरक्षाकर्मीले बाढी पसेका बस्तीका बासिन्दालाई आफ्नै ढंगले सुरक्षित बस्न आग्रह गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्