पुरानो भयो अर्जुन खोला सिँचाइ आयोजना



दाङ– धेरै त आकाशे पानीको भरमा खेती हुन्थ्यो । कुलोको पानी लाग्ने ठाउँका किसान महिना दिन सम्म ‘कुलाइ’ गर्थे । अर्जुन खोलाको पुल मुन्तिर ठूलो अस्थायी बाँध थियो ।

झाला, स्याउलालाई बालुवाले पुरेर बाँध बन्थ्यो । रातभरी पानी पथ्र्यो । अनी त्यो बाँध बगाउथ्यो । धान रोप्ने बेलामा फेरि किसान बाँध बनाउन कुलोको मुहानमा पुग्नुपर्ने बाध्यता थियो । पछि २०४५ सालबाट अर्जुन खोला सिँचाई आयोजनाको काम सुरु भयो । पक्की बाँध बन्यो । कुलो बन्यो । चार ओटा ढोकाहरु राखिए । त्यसपछि कुलाइको ‘टन्टा’ केही कम भयो ।

२०५० सालमा सिँचाइ आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको हो । साढे ६ सय विगाह जग्गा सिँचाइ सुविधा पु¥याउने उदेश्यका साथ सिँचाइ आयोजना सञ्चालनमा आएको थियो ।

लमही नगरपालिका वडा नं। ६ को देउपुर, मध्यनगर, खैरी, लंगडी, कस्यपुर र वडा नं। ५ को लमही गाउँ र कोलहीको केही भाग सिँचाइ हुन्छ । तर, सिँचाइ आयोजना अन्तर्गत बनेका संरचना सबै पुराना र जीर्ण भएका छन् ।

संरचना मर्मत नहुँदा हिउँद र बर्खा दुवै समयमा किसानलाई समस्या पर्ने गरेको छ । यो सिँचाइ आयोजना अन्तर्गत बनेको मुख्य संरचना नै जीर्ण भएको छ । ‘ढोकाहरु राम्रोसँग खुल्दैन, राम्रोसँग लाग्दैन ।

बर्खामा ढोका नखुल्दा मुहानमा माटो र गिट्टी थुप्रेको छ । पानी हुने ठाउँमा माटो र गिट्टी मात्रै छ’कुलोपानीको काम गर्दै आएका खुसीराम चौधरीले भने–‘कुलाही गरे पनि ढोका नखुल्दा सफा गर्न सकिएन । पुरानो डिजाइन अनुसारको संरचना छ । हातले खोल्नुपर्ने, हातले बन्द गर्नुपर्ने बाध्यता छ ।’

अर्जुन खोला सिँचाइ आयोजना अन्तर्गत अन्य थुप्रै संरचना बनेका छन् । तर, ती संरचनाको मर्मत हुन नसक्दा पानीको अभाव हुने गरेको छ।

‘पक्की संरचना छन् । कतै फुटेका छन् । कतै चर्किएका छन् । मुख्य ढोका भएको ठाउँका संरचनाले राम्रो संग काम गर्दैन’अर्जुन खोला जल उपभोक्ता समितिका सचिव गणेश चौधरीले भने–‘यो आयोजनालाई प्राथमिकतामा राखेर पुनः राम्रो बनाउन सकिन्थ्यो । सरकारी निकायबाट खासै चासो दिइएको छैन । उपभोक्तासँग आयोजना मर्मत गर्न सक्ने लगानी छैन।’

सुरुका वर्षहरुमा जल उपभोक्ता समिति सकृय थियो । जब आयोजना पुरानो हुँदै गयो । समिति पनि नस्किृय जस्तै हुँदै गएको किसानले बताएका छन् ।

‘पहिला समिति पनि सकृय थियो । रेख देख गर्न आउथे । अहिले त कोको समितिमा छन् । के के काम भएको छ । थाहा हुन छाड्यो’किसान हरिनारायण चौधरीले भने–‘समितिको कार्यालय थियो । किसान आउने छलफल गर्ने हुन्थ्यो । कार्यालय बन्द भएको पनि धेरै भयो ।’

अर्जुन खोला सिँचाइ आयोजनाको संरचना मर्मतको लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मार्फत केही काम भएका छन्।

तर, अझै अर्जुन खोला सिँचाइ आयोजनाको संरचना मर्मत गर्नुपर्ने आवश्यक रहेको कार्यालय प्रमुख गणेश मरासिनीले बताए।

‘अघिल्लो वर्ष केही काम गरिएको थियो । यस वर्ष के आवश्यक छ । के गर्नुपर्ने बाँकी छ । हामी स्थलगत रुपमा अध्ययन गर्छौं’कार्यालय प्रमुख मरासिनीले भने–‘कार्यालयबाट गर्न सकिने काम हामी गर्छौं।’

प्रतिक्रिया दिनुहोस्