अझै पाएका छैनन् ‘छ माया छपक्कै’ का निर्माताले २ करोड शेयर



११ साउन २०७७, काठमाडौँ

हेर्दा जति रङ्गीन देखिएपनि निकै खोक्रो छ नेपाली चलचित्र क्षेत्र । यहाँ भित्र भित्रै निकै लफडा, राजनीति हुने गर्दछ । त्यसैले पनि कुनैपनि कलाकारले यहाँ काम गरेको पैसा समयमा नपाउनु अब नौलो कुरा नै होइन ।

सन्दर्भ जोडौँ, गतबर्ष प्रदर्शनमा आएको चलचित्र छ माया छपक्कै को । छ माया छपक्कै व्यवसायिक रुपमा सफल भएको चलचित्र हो । चलचित्रलाई दर्शकले रुचाएनन् मात्र चलचित्रले कमाइ भने दमदार गर्यो ।

तर चलचित्रका निर्माताले अझैसम्म पैसा पाएका छैनन् । ‘छ माया छपक्कै’का निर्माताले देशभरबाट अझै २ करोड भन्दा बढी शेयर पाउन सकेका छैनन् । निर्माताले वितरकसँग बारम्बार ताकेता गर्दा पनि रकम नपाएपछि सामाजिक संजालमा पनि आक्रोश व्यक्त गर्दै आएका छन् । तर, उनको समस्याको सुनुवाई भएको छैन ।

निर्माता रोहित अधिकारीले अनलाइनखबरसँग भने–‘देशभरबाट २ करोड भन्दा बढी रकम लिनुछ । काठमाण्डौका गोपिकृष्ण, बीएसआर, पुष्पाञ्जली लगायतका हलबाट ५० लाख भन्दा बढी शेयर रकम उठेको छैन । काठमाण्डौ बाहिर एफडी कम्पनीले हाम्रो चलचित्र वितरण गरेको हो । एफडीसँग डेढ करोडको हारहारीमा शेयर लिनुछ । तर, चलचित्र रिलिज भएको १० महिना बढी भैसक्दा पनि शेयर नपाउनु दुर्भाग्य हो ।’

त्यतिमात्र नभएर रोहितले हल वितरकसँग चलचित्र हलबाट उत्रिएको ३ महिनाभित्र पैसा दिने सम्झौता भएको तर अहिलेसम्म त्यो पैसा नआएको भन्दै गुनासो पोखेका छन् । यसअघि अभिनेता पल शाहले पनि आफूले काम गरेको पारिश्रमिक समयमै नपाएको भन्दै गुनासो पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्