लकडाउन खुल्यो, देवघाटमा लाग्ने बोलबम मेला खुलेन



११ साउन २०७७, चितवन
कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउन खुले पनि साउन महिनाको हरेक सोमबार देवघाटमा लाग्ने बोलबम मेला भने सञ्चालन नगरिने भएको छ । भिडभाड हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिना भरको मेला स्थगन गरिएको हो ।

देवघाट क्षेत्र विकास समितिले पहिलो सोमबार लकडाउन भएकाले मेला स्थगन गरेको थियो । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार लकडाउन खुले पनि कोरोनाको सङ्क्रमण नरोकिएकाले मेला स्थगन गरिएको हो । मेलामा छिमेकी देश भारत र देशभरबाट नै भक्तजन आउने गर्दछन् । अघिल्ला वर्ष साउन महिनाका सोमबारमा पाँच लाख हाराहारी भक्तजन आउने गरेका उनले जानकारी दिए ।

अध्यक्ष पौडेलले भने, “हामीले स्थानीय प्रशासनसँग छलफल गरेर उहाँहरुको सुझावअनुसार नै बोलबम मेला स्थगन गरेका हौँ ।” कोरोनाको सङ्क्रमण घटेमा अबको ठूलो मेला हरिबोधिनी एकादशी र सतबिज छर्ने मेला मात्र हुने उनले बताए । उनले थपे, “सञ्चारमाध्यममार्फत हामी सबैलाई दुःखका साथ मेला भर्न नआउन अनुरोध गर्न बाध्य छौँ ।” पछिल्ला वर्षमा बोलबम मेला भर्न आउनेको सङ्ख्या बढ्दै गएको थियो । कतिपय खाली खुट्टामा देवघाटसम्म मेला भर्न आउने गरेका उनले जानकारी दिए । पवित्र तीर्थस्थल देवघाट चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थलमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्