ग्राहकलाई उचित सेवा दिन नेप्सेको आग्रह



१० साउन २०७७, काठमाडौं

नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार गर्ने ब्रोकर कम्पनीले तोकिए अनुसारको व्यवस्था लागू नगरेको तथा ग्राहकलाई उचित सेवा नगरेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ ।

शेयर बजारमा हाल अनलाइनमार्फत कारोबार गर्ने गरी सदस्य दलालबाट युजरनेम र पासवर्ड लिने लगानीकर्ताको सङ्ख्या ४० हजार पुगेको सन्दर्भमा नेप्सेले सफ्टवेयर युक्त डाटा सेन्टरको क्षमता बढाउन तथा प्राविधिक जनशक्ति बढाउनसमेत ब्रोकर कम्पनीलाई आग्रह गरेको छ ।

नेप्सेले कमजोरी तत्काल सच्याउन र लगानीकर्तालाई सहज सेवा उपलब्ध गराउन, नट्समार्फत सहज कारोबार गर्न गराउन लगानीकर्ताको नाम, ठेगाना, तिनपुस्ते नागरिकता नम्बर, बैंक खाता, निक्षेप खाताको यकिन विवरण राख्ने लगानीकर्तालाई अनलाइन सञ्चालनसम्बन्धी आधारभूत प्रशिक्षण दिन र कारोबारका क्रममा कुनै समस्या आएमा तुरुन्तै समाधान गर्ने गरी सहायता कक्षको व्यवस्था गर्ने निर्देशन दिइएको छ ।

ग्राहकलाई अनलाइन कारोबार गर्ने गरी युजरनेम र पासवर्ड उपलब्ध गराउन अघि त्यसलाई सञ्चालन गर्ने तरिकाबारे पनि सदस्य दलालले लगानीकर्तालाई जानकारी दिनुपर्ने भएको छ । नेप्सेले कारोबारमा हुने जोखिम न्यूनीकरणका लागि सदस्य दलालले लगानीकर्तालाई कूल कारोबार, कारोबार गर्ने सकिने धितोपत्र र कारोबार गर्न सकिने रकमको सीमा गरी तीन प्रकारको व्यवस्था गरेको छ ।

नेप्सेले लागानीकर्ताले कारोबार गर्दै आएको साबिकको सदस्यलाई छोडेर अर्को सदस्यमार्फत कारोबार गर्न चाहेमा साबिकका सदस्यसँग लेनदेनसम्बन्धी कुनै दायित्व भए सो फरफारक गरी नयाँ सदस्य दलालकोमा जानुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्