मधेसीलाई होच्याएको आरोपमा चर्चित हाँस्यकलाकार सन्दिप क्षेत्रीविरुद्ध उजुरी



२४ असार २०७७, काठमाडौँ

चर्चित हाँस्यकलाकार सन्दिप क्षेत्रीलाई मधेसीलाई होच्याएको आरोपमा मुद्धा परेको छ । हुन त केही यो कुरा पहिलो पटक भने उठेको होइन । केही दर्शकले पहिले पनि सन्दिपले मधेसीहरुलाई होच्याउने गरेको बताएका थिए । अहिले भने उनीविरुद्ध उजुरी नै परेको छ ।

उनले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम‘ह्वाट द फ्लप’ मार्फत मधेसी समुदायलाई होच्याउने, उडाउने र गालीगलोज गर्ने कार्य गरेको भन्दै जिल्लाप्रहरी कार्यालय, पर्सामाजाहेरी परेको हो । उनी विरुद्ध पर्सास्थित छिपहरमाईका अशोक कुमार कुशवाहाले जाहेरी दिएका हुन् ।

जाहेरीमा सन्दिपले मधेशी समुदायप्रति घृणा वा द्वेष फैलाउने र मधेशी र पहाडी सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन र प्रदर्शन गरेको आरोप लगाइएको छ । सन्दिपले कार्यक्रममार्फत मधेशी महिलालाई जिस्क्याउने, होच्याउने, अपमान गर्ने र अमर्यादित कार्य गर्ने गरेको आरोप समेत लगाइएको छ ।

सन्दिप अहिले मौन छन् । उनले यसबारे कुनैपनि प्रतिक्रिया दिएका छैनन् । केहीसमय अघि भने उनले आफ्नो कार्यक्रम मार्फत मधेसीलाई होच्याउन नखोजेको बताएका थिए । साथै उनले केवल मनोरञ्जनका लागि मात्र यो कार्यक्रम ल्याएको पनि स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्