किसानलाई व्यावसायिक बनाउँदै पशुसेवा कार्यालय



२३ असार २०७७, दैलेख

कर्णाली प्रदेश सरकारअन्तर्गत सञ्चालनमा आएको पशु अस्पताल तथा पशुसेवा कार्यालय दैलेखले किसानलाई व्यावसायिक पशुपालनतर्फ अग्रसर बनाउने अभियान शुरु गरेको छ ।

परम्परागतरुपमा पशुपालन गर्दै आएका नारायण नगरपालिकाका किसानलाई प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा १२० भैँसी वितरण शुरु गरिएको छ ।

नारायण– ३, ४, ५, ६, ७ र ११ का भैँसीपालक किसानलाई उन्नत भैँसी वितरण गरिएको हो । पहिलो चरणमा ६० भैँसी वितरण गरिसकिएको छ । करीब र एक लाख परेको एउटा भैँसीका लागि किसानले रु दश हजार मात्र लगानी गर्नुपर्ने प्रावधान छ ।

“बाबुबाजेको पालादेखि नै नै भैँसीपालन गर्दै आएका हौंँ, यसपालिदेखि व्यावसायिक र उन्नत भैँसी पालनका लागि सरकारले भैँसी प्रदान गरेको छ । हामीलाई निकै खुशी लागेको छ । अब दूध बिक्री गरेर सहजै आम्दानी गर्छाैँ”, नारायण नगरपालिका –७ का जङ्गबहादुर महताराले बताए ।

कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापाको सांसद विकास कोषको रु ४० लाख, नगरपालिकाको रु ४० लाख र भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशु अस्पताल कार्यालय दैलेखको रु एक करोड लगानी गरेर दुग्ध उद्योग सञ्चालनसमेत गरिने भएको छ ।

किसानले उत्पादन गरेको दूध बिक्रीवितरणका लागि राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाले समन्वय गर्ने भएको छ ।

नगरपालिकाका गरीब एवं विपन्न किसानको आर्थिक अवस्था सुधार गर्नका लागि र तिनलाई व्यावसायिक पशुपालनमा अग्रसर गराउन चालु आवदेखि यस्तो अभियान थालिएको नगर प्रमुख रत्नबहादुर खड्काले बताए ।

पशु अस्पतालका कार्यालयका निमित्त प्रमुख भीमबहादुर विष्टले व्यावसायिक किसान तयार गर्ने अभियानलाई सबैले साथ दिनुपर्ने बताए । किसानले ल्याएको दूध गैरसरकारी संस्थाले खरीद गर्ने र १५ दिनको एक पटक चेकमार्फत पैसा भुक्तानी गरिने व्यवस्था गरिएको विष्टको भनाइ छ । किसानले उत्पादन गरेको दूध सहकारीले खरीद गरिदिने छ ।

हरेक १५ दिनमा किसानको बैँक खातामा रकम जम्मा हुने छ । जिल्लामा खपत हुन नसके छिमेकी जिल्ला सुर्खेत र बाँकेसम्म दूध बिक्री गर्नेगरी दीर्घकालीन योजना निर्माण गरिएको राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दैलेखका अध्यक्ष खमबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्