चर्चित गायक अरुण थापाको बायोपिकमा प्रदिप !



२२ असार २०७७, काठमाडौँ

प्रदिप खड्का अहिलेका सर्वाधिक लोकप्रिय अभिनेता हुन् । उनको हातमा एकपछि अर्को राम्रो व्यानरका चलचित्रहरु आइरहेका छन् । उनी अभिनीत चलचित्र प्रेमगीत ३ चैत्र २८ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउनेवाला थियो । तर लकडाउनका कारण रोकियो ।

यो चलचित्र अब आउने चैत्रमा रिलिज हुने बताइएको छ । प्रदिपले अब चर्चित गायक अरुण थापाको बायोपिकमा काम गर्न लागेको खबर आइरहेको छ । यद्यपि प्रदिपले यसबारे कुनै जानकारी भने दिएका छैनन् ।

फिल्ममा गायक थापाको गायन यात्रादेखि प्रेम जीवनसम्म रहने छ । दर्जनौ गीतमा आवाज भरेका गायक अरुणका ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘चोट के हो, बेथा के हो’, ‘जति माया लाए पनि’ अझैँ पनि लोकप्रिय छन् । निर्माण गर्न लागिएको बायोपिक फिल्ममा ५० वर्षअघिको सेटअपमा फिल्म तयार गरिनेछ ।

बायोपिक फिल्म निर्माणका लागि सम्बन्धित व्यक्ति वा उसको परिवारको अनुमति चाहने हुँँदा निर्देशक दिनेश थापाको टिम गायक अरुण थापाकी छोरीसँग भेट गर्ने सोचमा रहेको बताएको छ । गायक थापाकी छोरी अष्ट्रेलियामा बस्दै आएकी छन् । गायक अरुण थापाको २१औं स्मृति दिवसको अवसरमा अर्थात साउन ५ गते फिल्मको औपचारिक निर्माण घोषणा गर्ने निर्माण पक्षको तयारी छ । फिल्मको कथा विकास सुवेदी र निर्देशक राउतले मिलेर लेखिरहेका छन् । फिल्मको घोषणा अहिले गरेता पनि छायाँङ्कन भने अर्को साल गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्