मेलम्ची आयोजना सम्पन्न, छिट्टै उद्घाटन गर्दैछौं : खानेपानी मन्त्री मगर



२१ असार २०७७, काठमाडौं

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएको बारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिट्टै गरिने जानकारी दिएका छन् ।

आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको छ । सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी बितरणको प्रक्रिया सुरु गरिने बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरब बोध भएको बताईन् । मन्त्री मगरले भनिन्, ‘मेलम्चीबारे थुप्रै आशंकाहरु थिए । आम जनतामा निराशा थियो । मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ताहरु पनि थिए । तर, हामीले चुनौतीसँग जुध्यौं । ती सबै आशंकाहरु, अन्यौलताहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उपलब्धी हो ।’

मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । मन्त्री मगरले भनिन्, ‘मेलम्ची आयोजना निकै लामो समयदेखि सुरु भएको आयोजना हो । मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि निकै मेहेनतका साथ आयोजना सम्पन्न गर्न लागिरहें । आयोजना सम्पन्न गर्ने क्रममा थुप्रै चुनौतीहरु आए, अनेकौं गलत प्रचारहरु गरिए । तर, हिम्मत नहारिकन हामी अगाडि बढ्यौं । त्यसकै प्रतिफल आजको उपलब्धी हासिल गरेका छौं । यसले हामी सबै नेपालीको शीर उच्च भएको छ ।’

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निकै चुनौतीपूर्ण आयोजना सम्पन्न गरिएको बताए । उनले आयोजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिट्टै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा बितरण गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्