शेयर बजारमा उछाल, ७२ अंकले बढेपछि कारोबार नै बन्द



१६ असार २०७७, काठमाडौं

परिसूचकमा तीव्र वृद्धिका कारण ‘पोजेटिभ सर्किट’ लागेपछि शेयर कारोबार स्थगित भएको छ ।

मंगलबार बजारको कारोबार सुरु भएदेखि नै तीव्र रुपमा बढ्न थालेको शेयर बजारको कारोबार पहिलो एक घण्टा १७ मिनेटमा ५ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेकर लागेको थियो । सो अवधिमा परिसूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । पुन कारोबार सुचारु भएको केही मिनेटमै थप १ प्रतिशत बिन्दुले बजार बढेर वृद्धिदर ६ प्रतिशत पुगेपछि बजारको सम्पूर्ण कारोबार स्थगित भएको हो ।

६ प्रतिशतको बजार वृद्धिसँगै नेप्से परिसूचक ७२.०५ अंकले बढेर १२६०.७५ अंकमा पुगेको छ । सो दिन नेप्से, सेन्सेटिभ, फ्लट र सेन्सेटिभ फ्लट लगायत सबै परिु्रचक बढेको छ । उपसूचकतर्फ होटल र म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु बढेका छन् ।

यो दिन सबैभन्दा बढी उछाल जीवन बीमा क्षेत्र, उत्पादनमूलक क्षेत्र र बैंकिङ क्षेत्रका परिसूचकमा देखिएको छ । म्युचुअल फण्डको परिसूचक झिनो अंकले घट्दा होटल क्षेत्रमा भने करिब ४८ अंकको गिरावट देखिएको छ ।

मंगलबार १८ वटा कम्पनीका शेयरधनीको सम्पत्ति १० प्रतिशतले बढेको छ । सो दिन १२९ वटा शेयर स्क्रिपको कारोबार भएकोमा ११२ वटा कम्पनीको शेयरमूल्य बढेको छ । ६ वटाको मूल्य बराबर रहँदा ११ वटाको मूल्य भने घटेको छ ।

३ महिनाभन्दा पछि सोमबारदेखि खुलेको शेयर बजारमा सोमबार १२ अंकको गिरावट देखिएको थियो । पहिलो घण्टा करिब ४८ अंक घटेर सर्किट ब्रेकर लागेपछि सुरु भएको वृद्धिले मंगलबार निरन्तरता पाउँदा नेप्सेमा उत्साहजनक सुधार देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्