तिब्बत सरकारद्वारा सात करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण



२० जेठ २०७७, विराटनगर

प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले करिब सात करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को—अर्डिनेटर मुकेश उपाध्यायले हस्तान्तरण गरेका हुन् ।

प्राप्त भएको स्वास्थ्य सामाग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन् । त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पिपिइ ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकल माक्स २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइ आर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ ।

उपलब्ध भएका स्वास्थ्य सामाग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए । हामी प्रदेशका धेरै भन्दा धेरै नागरिकहरुको कोरोना परीक्षणमा छौं, प्राप्त भएका सामाग्रीहरुले थप सहयोग पुगेको उनको भनाई छ । साथै सामाग्री उपलब्ध गराएको तिब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवाद समेत दिएका छन् । प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तिब्र बनाएको छ । प्रदेश १ मा करिब ८ हजारको पिसिआर परीक्षण भएको छ । प्रदेश १ मा अहिलेसम्म १ सय ६२ जनालाई कोभिड—१९ पुष्टि भएको छ भने ३० जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्