कोरोना सङ्क्रमितका कारण रोकियो जोरपाटी–सुन्दरीजल सडकको काम



१२ जेठ २०७७, काठमाडौं

गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक पदमा कार्यरत ५८ वर्षीय स्थानीयवासीमा कोरोना पुष्टि भएपछि नगरपालिकाको वडा नं ४ सिल गरिएकाले रोकिएको हो । सङ्क्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण नगरेसम्म वडा नं ४ मा सडक बिस्तारको काम नगरिने वडाध्यक्ष श्रीकुमार श्रेष्ठले बताए ।

यही जेठ ६ गते नगरवासीमा कोरोना पुष्टि भएपछि धेरै ठाउँमा भइरहेको काम रोकिएको हो । वडा नं १ को केही भागमा भने पर्खाल लगाउने काम भइरहेको छ । गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक दायाँबायाँ घर भएका स्थानीयवासीले विरोध गरेपछि बिस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए ।

सहमतिसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म काम सक्ने गरी रु ५८ करोड लागतमा भइरहेको काम नसकिने भएको छ । बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाइए पनि विद्युत्को पोल, तारलगायत संरचना हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी श्याम तामाङले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्