मनिषाको समर्थन गर्दै पूजाले भनिन्, ‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानु भएको होइन’



०८ जेठ २०७७, काठमाडौँ

यतिबेला नेपालमा र भारतमा पनि भारतले नेपालको सिमाना मिचेको कुराको चर्चा चलिरहेको छ । यसैबिच नायिका मनिषा कोइरालाले नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्साको समर्थन गरेकी थिइन् ।

त्यसैकारण अहिले भारतीय मिडियाले मनिषाको खेदो खनिरहेको छ । मनिषाको नराम्रोसँग सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । धेरै भारतीय मिडियाले मनिषाले भारतको नुन खाएर नेपालको समर्थन गरेको बताइरहेका छन् ।

यता नेपाली कलाकारले पनि मनिषाको निकै साथ दिइरहेका छन् । यसैबिच नायिका पूजा शर्माले फेसबुकमा स्टाटस देख्दै भारतीय मिडियालाई गतिलो जवाफ दिएकी छिन् ।

नायिका शर्माले लेखेकी छिन्–‘मनिषा कोइरालाको ट्विटलाई लिएर भारतीय मिडियाहरु रोइलो गरिरहेका छन् । तर, उनीह्रुले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा पनि गरेनन् ।’

पूजा अगाडि लेख्छिन्–‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानुभएको होइन, आफ्नो कलाकारितामा उभिएर खानुभएको हो । मनिषा दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रती टिठ लागेर आयो ।’

उनले, कामको सिलसिलामा विश्वको जुनसुकै देशमा बसेपनि जब देश र आफ्नो जमिनको कुरा आउँछ, त्यतिबेला देशकै पक्षमा बोलिन्छ भन्दै लेखेकी छिन्–‘जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुछ्ने पराइलाई आमा भन्न सकिदैन, चेतना भया ।’

पूजा सँगै अन्य धेरै कलाकारले पनि मनिषाको समर्थन गरिरहेका छन् । मनिषा भने यसबारे मौन नै बसेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्