उखु किसानले अझै पाएनन् भुक्तानी



२२ वैशाख २०७७, काठमाडौं

उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी(९बर्दघाट सुस्ता पश्चिम)का उखु किसान मर्कामा परेका छन् ।

तीन चिनी उद्योगबाट ४० करोड रुपैयाँबराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै भुक्तानी नभएपछि समस्यामा परेको उखु कृषक समिति अध्यक्ष उमेशचन्द्र यादवको भनाइ छ । समितिका अनुसार वाग्मती चिनी उद्योगले २५ करोड रुपैयाँ, लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा चिनी मिलले पाँच करोड रुपैयाँबराबरको भुक्तानी दिन बाँकी छ । तीमध्ये वाग्मतीको आव ०७६/७७, लुम्बिनीको ०७५/७६ र इन्दिराको ०७५/७६ मा किसानको उखु खरिद गरेबापतको रकम भुक्तानी दिन बाँकी देखिएको हो ।

सबै उद्योगले उत्पादन गरेको चिनी बिक्री गरिसके पनि हालसम्म किसानले भुक्तानी पाएका छैनन् । चर्को ब्याजदरमा ऋण लिएर खेती गरेका कारण समयमा भुक्तानी नहुँदा दोहोरो मारमा परेको प्रतापपुर ७, छिवनीका किसान पप्पु गुप्ता बताउँछन् ।

यहाँ चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योगको उत्पादन बन्द छ भने लुम्बिनी र इन्दिराले चालु आवमा चिनी उत्पादन गर्न सकेका छैनन् । चालु आवमा नवलपरासीमा वाग्मतीबाहेक अन्य तीनवटै उद्योगको उत्पादन बन्द छ ।

चिनी उद्योगले समयमै रकम भुक्तानी नदिने प्रवृत्ति बढ्दै गएकाले सरकारले मूल्य निर्धारण गर्ने क्रममा उद्योगलाई भुक्तानी गर्ने समयावधिसमेत तोक्नुपर्ने प्रतापपुर ७, झलनीपुरका उखु किसान मदनचन्द्र कोइरी बताउँछन् ।

वाग्मती चिनी उद्योगले तत्कालका लागि पेस्की स्वरुप किसानलाई केही रकम उपलब्ध गराउने जनाएको छ । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ४७१ रुपैयाँ २८ पैसा यसअगावै निर्धारण गरिसकेको थियो । वाग्मतीले पहिलो चरणमा २०७७ असार मसान्तभित्र प्रतिक्विन्टल ३७१ रुपैयाँ २८ पैसाका दरले भुक्तानी गर्ने र बाँकी आउँदो दसैंसम्म गर्ने तयारी गरिएको महाप्रबन्धक टंकनाथ काफ्लले बताए ।

पश्चिम नवलपरासीमा सुस्ता, प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ । रामग्राम नगरपालिकाको केही भागमा पनि उखु खेती गरिँदै आएको छ । पछिल्लोपटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका अनुसार चालु आव ०७६र७७ मा कुल तीन हजार ६२३ हेक्टरमा एक लाख ७१ हजार ३५० टन उखु उत्पादन भएको तथ्याङ्क छ ।

यसैगरी अघिल्लो आव ०७५र७६ मा कुल तीन हजार ६६८ हेक्टरमा एक लाख ७३ हजार ४९० टन उखु उत्पादन भएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्