कैलालीमा त्रास : थप एक जना कोरोना संक्रमण फेला



कैलालीमा त्रास

सोमबार कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको नयाँ संक्रमण फेला परेपछि यहाँका नागरिक त्रस्त छन् । लम्कीमा संक्रमण देखिएकी ६५ वर्षीया १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिनअघि लम्की पुग्नुभएको थियो ।

लम्की चुहा नगरपालिकास्थित लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो । उनीहरु नेपाल र भारतको वीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ । तीमध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको पनि बताइन्छ । सोमबार कोरोना संक्रमण पुष्टि भएकी महिला वीरगञ्ज नाका नजीक चिया बेच्ने काममा संलग्न रहेको बताइन्छ ।

क्वारेन्टाइनमा बसेकै बेला त्यहाँं रहेका सबैको र्यापिड टेष्ट गरिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको र्यापिड टेष्ट नेगेटिभ आए पनि स्वाबको पिसिआर टेष्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको नमूना पोजेटिभ आएपछि संक्रमित महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट नेगेटिभ आएपछि नयाँ वर्ष मनाउन घर जान पाउनुपर्ने माग गर्न थालेकाले उनीहरुलाई पिसिआरको रिपोर्ट नआउँदै गत चैत २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ । ती महिलाको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीले बताउनुभयो ।

संक्रमितसंँग क्वारेन्टाइनबाट घर पठाइएका बाँकी १६ जनालाई समेत सोमबार फेरि क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ । संक्रमितको लम्कीमा घर नभएको र आफन्तका घरमा गएको बुझिएको छ । संक्रमित क्वारेन्टाइनबाट फर्किएपछि उहांँ बसेका आफन्तको घर र अरु सम्पर्क भएकाहरुको पहिचान भइरहेको छ । उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिने वडाध्यक्ष जनक बमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्