विदेशबाट आएका नागरिक खोज्दै स्थानीय सरकार



०२ बैशाख २०७७, काठमाडौं

कोभिड–१९ बाट संक्रमितको खोजी गर्न स्थानीय सरकारले विदेशबाट आएका नागरिकको खोजी अभियान थालेका छन् ।

कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउंँपालिकाले तथ्यांक सकलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले आजदेखि अभियान शुरु थालेको छ ।

लम्की चुहाले ४८४ र जानकीले २३७ जना विदेशबाट आएको पत्ता लगाएका छन् । यसरी पत्ता लगाएका व्यक्तिको सोमबारदेखि र्यापिड टेष्ट शुरु गरिएको लम्कीचुहाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी गराउनुभयो । ‘‘ अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै हुनुहुन्छ’’, बिसीले भन्नुभयो, ‘‘लम्कीका दुई नागरिकमा कोभिड –१९ संक्रमण देखिएपछि झन् त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिक पनि खोज्न थालेका हौंँ ।’’

यता कैलालीको धनगढीपछि ठूलो जनसंख्या भएको नगरपालिका टीकापुरमा पनि अभियान आजदेखि शुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो । रावलका अनुसार टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेविका गरी २५४ जना परिचालन गरिएको छ ।

परिचालित स्वास्थ्यकर्मी र स्वयंसेविकाले विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन गर्ने, साबुनपानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ । यसबाहेक विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेण्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड– १९ का लक्षण तथा बच्ने उपायबारे जानकारी गराउनेछन् । तीन दिनभित्र तथ्यांक संकलन गर्ने रणनीतिअनुसार काम शुरु गरिएको स्वास्थ्य शाखा संयोजक रावलले बताउनुभयो ।

‘‘ तीन सय ३० जना विदेशबाट आएकाहरुको तथ्यांक टीकापुर नगरपालिकासंँग छ । यसको दोब्बर संख्या हुन सक्ने अनुमान हाम्रो छ ’’, रावलले भन्नुभयो,‘‘तथ्यांक संकलनपछि र्यापिड टेष्ट गरिने छ ।’’ नगरपालिकामा ६० जनाको र्यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्