हुम्लाका ११ स्वास्थ्य संस्थालाई सामग्री सहयोग



२९ चैत २०७६, काठमाडौं

हुम्लाको सिमकोट गाउँपालिकाले आज ११ स्वास्थ्य संस्थालाई आवश्यक सामग्री सहयोग गरेको छ । कोभिड –१९ को संक्रमणबाट बच्नका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई अत्यावश्यक सामग्री उपलब्ध गराइएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक दानबहादुर बोहराले बताउनुभयो ।

जिल्लामा महामारी नफैलियोस् भनी पूर्वतयारीका लागि गाउँपालिकाले आफू मातहतका स्वास्थ्य संस्थालाई एकएक थान पिपिइसहित वडा नं. २, ३, ७ र ८ का चार बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा चाहिने सौर्यबत्ती, घडी, बाल्टिन र एप्रोनलगायत एकएक थानका दरले वितरण गरेको जनाइएको छ ।

सामग्री पाउनेमा स्याँडा, डाँडाफया, ठेहे, बरगाउँलगायतका स्वास्थ्य संस्था छन् । यस्तै गाउँपालिकाअन्तर्गतका ती स्वास्थ्य संस्थालाई पिपिई एक–एक, मास्क ५०, डिजिटल थर्मोमिटर दुई, पञ्जा १००, सेनिटाइजर दुई र भाइरेस्क पाँच वटाका दरले आज वितरण गरिएको छ । गाउँपालिकामा चार बर्थिङ सेन्टर छन् । सबै स्वास्थ्य संस्थामा औषधि र उपकरणको कमी हुन नदिइने र बिरामीको भरसक छिट्टै उद्धार गरिने गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताउनुभयो । डाँडाफया, स्याँडा र ठेहेका स्वास्थ्यचौकीमा यसअघि एकएक थान पिपिइ पठाइसकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्