कैलालीका कोरोना संक्रमित व्यक्ति २४ घण्टासम्म हजारौँ जनाको बीचमा थिए 



२२ चैत्र २०७६, काठमाडौं

शनिबार कोरोना भाइरस संक्रमणको पुष्टि भएका सुदूरपश्चिमका ३ जनामध्ये कैलालीका १ युवकले भारतबाट नेपाल आउँदा १ हजार भन्दा बढी जनाको भिडमा २४ घण्टा विताएको खुलेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका घर भइका २१ वर्षीय युवक गत चैत ११ गते कैलालीको त्रिनगर (गौरीफन्टा) नाकामा जम्मा भएको करिब १ हजार जनाको भिडमा २४ घण्टा बसेर आएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, सरकारले लकडाउन र सीमा नाका बन्द गरे लगत्तै उनी कैलालीको गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाराबाजीमा उत्रिएको भीडमा सहभागी थिए ।

पछि मन्त्रीपरिषद् बैठकको निर्णयपछि ११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको थियो ।

नमूना संकलन गरी परिक्षणका लागि काठमाडौं ल्याइएकोमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनमा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिएको हो । कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भएपछि उनलाई अहिले एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल लगीएको छ ।

गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका अधिकांश  क्वारेन्टाइनमा नबसी सिधै परिवारको तथा गाउँलेको सम्पर्कमा पुगेका छन् । जसका कारण अहिले सुदूरपश्चिमका ९ वटै जिल्लामा कोरोनो संक्रमणको त्रास बढेको छ ।

प्रतिक्रिया दिनुहोस्