कञ्चनपुरका ४१ वर्षीय कोरोना संक्रमित व्यक्ति अवैध बाटो हुँदै प्रवेश गरेको खुलासा



२२ चैत्र २०७६, काठमाडौं

सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा  कोरोना भाइरस संक्रमण भएका थप तीनजना बिरामी भेटिएको जानकारी दिएको हो ।

संक्रमितहरुमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यस्तै कैलालीकी ३४ वर्षीय महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।

कञ्चनपुरका ४१ वर्षीय संक्रमित पुरूष चैत २ गते कञ्चनपुरको वेदकोटबाट भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँस्थित सडक निर्माणको काममा गएका थिए ।

विश्वभर कोरोनाको महामारी फैलिएसँगै त्रासले गर्दा उनी चैत १३ गते अवैध बाटो हुँदै नेपाल आइपुगे । ती पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेका पाइएको छ । अवैध बाटोमार्फत नेपाल छिरेको थाहा पाउने बित्तिकै चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।

अवैध बाटोमार्फत नेपाल आएको खबर थाहा पाउनेबित्तिकै काठमाडौँस्थित छाउनीबाट नेपाली सेनाको मेडिकल टिमले उनको स्वाव परीक्षणका लागि ल्याएको थियो । परीक्षणको क्रममा ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखियो । स्वास्थ्य मन्त्रालयले आज मात्र ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्