सरसफाइकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री अभाव



२२ चैत २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड –१९ ) सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन गरेपछि पनि सरसफाइकर्मीले काठमाडौ महानगरको सफाइलाई जारी राखेका छन् । अहिले उनीहरुलाई थप व्यक्तिगत सुरक्षाको पोशाक अभाव रहेको बताइएको छ ।

सो अभाव हुन नदिन काठमाडौ उपत्यकाको सफाइ, सार्वजानिक शौचालय सुधार र स्वच्छता कायम गर्न क्रियाशील गैरसकारी सस्था ‘गुथि’ ले वाटर एड नेपालको आर्थिक एवं प्राविधिक सहयोग तथा फोरमैला व्यवस्थापन सङघको सहकार्यमा काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिका कार्यरत ५०० सफाइकर्मीलाई व्यक्तिगत सुरक्षालाई ख्याल गरी आवश्यक सुरक्षा सामग्री वितरण गरेको छ । ती सामग्रीमा ग्लोभ, मास्क र सुरक्षा पोशाक (पिपीइ) रहेका गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो । उहाँले सरसफाईकर्मीको स्वास्थ्यमा जोखिम हुन नदिन थप व्यक्तिगत सुरक्षाका अभाव हुन नदिन ती सामग्री वितरण गरिएको बताउनुभयो ।

शुक्रबार आयोजित कार्यक्रममा ती सामग्री ती दुई नगरका प्रमुखलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा काठमाडौंमहानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिगत सुरक्षा सामग्रीले कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन र अस्पतालजन्य फोहर व्यवस्थापन गर्न सहयोग पुग्ने बताउनुभयो । सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोखिम हुन नदिन महानगरले उच्च प्राथमिकता दिएको र सरकारले घोषणा गरेको स्वास्थ्य बीमा कार्यान्वयन गर्न पहल गर्ने जानकारी दिनुभयो । अत्यावश्यक सेवामा कार्यरत कामदारका लागी रु २५ लाखको स्वास्थ्य बीमाको व्यवस्था सरकारले गरेको छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कोरोना भाइसरको जोखिम हुन नदिन सरसफाइकर्मीले सुरक्षा पोशाक अनिवार्य रुपमा लगाउनुपर्छ र सरसफाइमा विशेष ध्यान आग्रह गर्नुभयो । अहिलेको समयमा नगर सफा गर्न पहिलो भूमिका सफाइकर्मीको हुँदा उनीहरुको स्वास्थ्यलाई नगरले प्राथमिकता दिएको जानकारी दिनुभयो ।

गुथिका सल्लाहकार अमात्यले लकडाउनमा पनि सफाइकर्मीले सफाइ जारी राखी नगरको स्वच्छता कायम गर्न सहयोग गरिराखेको हुँदा कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन पोशाक वितरण गरेको बताउनुभयो ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले सरसफाइमा नगरपालिका सँधै नै संवेदनशील रहेको र यसको व्यवस्थापनका लागी दीर्घकालीन योजनालाई कार्यान्वयमा ल्याइएको बताउनुभयो छ ।

फोहरमैला व्यवस्थापन सङ्घका अनुसार काठमाडौ उपत्यकामा भित्रका नगरपालिकामा ६५ सरसफाइ कम्पनि अन्तर्गत दुई हजार ५०० सरसफाइकर्मी कार्यरत छन् । देशभर करिव ६ हजार भन्दा बढी सरसफाइकर्मी नगर सरसफाइमा कार्यरत छन् । सरसफाइ अत्यावश्यक सेवामा रहेको छ । यसको अभावमा नगरको वातावरण स्वच्छ नरहने र थप जोखिम निम्त्याउन सक्ने जनाइएको छ ।

सङ्घका अध्यक्ष धनप्रसाद आचार्यले कोरोना भाइरसको जाखिम हुन नदिन सङ्घले आफ्नो तर्फबाट सहयोग गरिराखेको जानकारी दिँदै र सफाइकर्मीको स्वास्थ्यलाई ध्यान दिन नगरपालिकासित आग्रह गर्नुभयो । उहाँले सुरक्षा पोशाक काठमाडौ उपत्यकाका सबै सरसफाइकर्मीलाई नगरपालिकाले उपलब्ध गराउन माग गर्नुभयो । सङ्घ महासचिव मित्र घिमिरेले सफाइकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री अभाव रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्