कोभिड–१९ : टोखाद्वारा रु दुई करोड ५० लाखको कोष



२२ चैत २०७६, काठमाडौं

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले कोरोना नियन्त्रणका लागि रु दुई करोड ५० लाखको राहत कोष स्थापना गरेको छ । टोखाको शुक्रबार बसेको ५२औँ कार्यपालिकाको बैठकले विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरसबाट हुनसक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर उक्त नगद राशिको कोष स्थापना गरेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारी कोभिड–१९ बाट हुनसक्ने भैपरी समस्या समाधानका लागि ‘कोरोना सङ्क्रमण, रोकथाम तथा उपचारका कोष’ स्थापना गरेको बताउनुहुन्छ ।

“नगरसभाबाट पारित भई लक्षित वर्ग, भैपरी तथा मर्मत, नगरस्तरका विपद् व्यवस्थापन र लक्षित वर्गमा विनियोजन भई सम्झौता हुन बाँकी रहेको बजेटलाई रकमान्तरण गरी उक्त कोष स्थापना गरेका हौँ”, उहाँ भन्नुहुन्छ । उक्त कोषमा रकम जम्मा गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

टोखाले नगर विपद् व्यवस्थापन समितिको बैठक र राहत वितरण मापदण्ड निर्धारण उपसमितिले निर्धारण गरेको मापदण्ड, उपत्यका नगरपालिका फोरम र सरकारले तोकेको मापदण्डलाई आधार मानी वडास्तरबाट राहत वितरण गर्ने निर्णय गरेको छ । यसअघि टोखाले राहत वितरण मापदण्ड निर्धारणका लागि उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा छ सदस्यीय कार्यसमिति निर्माण गरेको थियो ।

राहत वितरण उपसमितिको बैठकको निर्णयअनुसार वडाध्यक्ष वा वडाध्यक्षले तोकेको सदस्यको संयोजकत्वमा राहत पहिचान तथा वितरण गर्नका लागि पाँच सदस्यीय सर्वपक्षीयसहितको छानविन समिति गठन गरेको छ । टोखाले राहत वितरणका लागि यसभन्दा पहिले सबै वडालाई रु एक÷एक लाख नगद विनियोजन गरेको थियो । शुक्रबारको बैठकले वडा नं. १ मा चार लाख र अरु १० वडामा पेश्कीस्वरुप रु सात÷सात लाख रकम विनियोजन गरेको नगरप्रमुख अधिकारी बतानुहुन्छ । टोखा नगरपालिकाको वडा नं. १ झोर पर्छ ।

टोखा नगरपालिकाले बनाएको राहत मापदण्डअनुसार तीन जनाभन्दा धेरै व्यक्ति भएको परिवारलाई ३० किलोग्राम चामल, तीन किलोग्राम दाल, दुई प्याकेट नुन, दुई लिटर खानेतेल, चार पुरिया साबुन र दुई किलोग्राम चिनी रहेको छ ।

दुई जनासम्मको परिवारले तीन जनाभन्दा धेरै व्यक्ति भएको परिवारभन्दा आधा खाद्यान्न पाउनेछन् । टोखा नगरपालिकाले रकमको आधारमा तीन जनाभन्दा बढी परिवारलाई रु दुई हजार ५०० रकम बराबरको खाद्यान्न र त्यसभन्दा कम व्यक्ति भएको परिवारलाई रु एक हजार २५० रकम बराबरको खाद्यान्न वितरण गर्नेछ ।

टोखा नगरपालिकाले विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरसलाई मध्यनजर गर्दै टोखा नगरपालिकाभित्र मनाइँदै आएको जात्रा तथा पर्वलाई स्थगित गर्ने निर्णयसमेत गरेको छ । प्रत्येक वडामा कोरोना भाइरसको जनचेतना तथा तथ्याङ्क सङ्कलनका लागि खटाइएका स्वयंसेवकको खाजा खर्चका लागि प्रत्येक वडामा रु ५० हजार विनियोजन गरेको छ । उक्त रकम सोही कोषबाट नै खर्च गर्ने व्यवस्था गरिएको छ ।

नगरपालिकाभित्र कोरोना नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने कर्मचारीलाई भने तलब स्केलको २०० प्रतिशत भत्ताको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित २३ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्