भक्तपुरमा टाउको नभएको महिलाको शव भेटियो



१८ चैत्र २०७६, काठमाडौं

भक्तपुरको हनुमन्ते खोलामा एक महिलाको शव भेटिएको छ ।

मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको सिमानामा पर्ने बालकोट नजिकको हनुमन्ते खोलामा विभत्स ढंगले हत्या गरी फ्याँकिएको अवस्थामा टाउको नभएको महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

सोमबार (हिजो) साँझ खोलामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनायो । गठ्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने हनुमन्ते करिडोर निर्माण भइरहेको खोलामा करिब २८ वर्ष उमेरकी नीलो सुरुवाल र कलेजी रङको कुर्था लगाएकी युवतीको शव फेला परेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहितको टोलीले घटनास्थलको अनुसन्धान गरी राति नै शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

टाउको नभएको, तिघ्रा र खुट्टामा जनावरले खाएकोजस्तो कोतरेको र बायाँ हातको नाडीमुनिको भाग नभएको अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक प्रधानले बताए ।

“घटनास्थलको अवस्था हेर्दा अन्य ठाउँमा हत्या गरी यहाँ ल्याएर फ्याँकेको हुनसक्ने अनुमान गरेका छौं ।” उनले भनेका छन् । ‘शवलाई प्लाष्टिकमा बेरेर, ठूलो झोलामा हालेर त्यसलाई पनि बोरामा हालेर फ्याँकेको देखिन्छ । शव हेर्दा घटना कम्तीमा एक साताअघि भएको अनुमान गरेका छौँ।’

|प्रतिकात्मक तस्वीर|

प्रतिक्रिया दिनुहोस्