काठमाडौं महानगरद्वारा क्वारेन्टाइन तयारीमा तिब्रता



१७ चैत २०७६, काठमाडौं

काठमाडौं महानगरले कोरोना (कोभिड(१९) भाइरसको महामारीसँग जुध्न सम्भाव्य विरामीका लागि बस्ने छुट्टै घर ‘क्वारेन्टाइन’ को व्यवस्थाका लागि  तिब्रता दिएको छ ।

धेरै जनघनत्व त्यसमा पनि राजधानी जस्तो ठाउँ अति संवेदनशील हुने भएकाले महानगर, प्रदेश तथा संघीय सांसदलाई निकै पिरोलेको अवस्था देखिन्छ ।

सोही जिम्मेवारीले थिचेर काठमाडौंको ३१ नं. वडामा रहेको प्राकृतिक चिकित्सालय, आर्ट अफ लिभिङ, अर्याल होटल र रानीमहल होटललाई क्वारेन्टाइन केन्द्रको रुपमा विकास जनप्रतिनिधिहरु महानगर प्रमुख विद्या सुन्दर शाक्य, वागमती प्रदेश सांसद गणेश दुलाल तथा वडा अध्यक्ष नारायण भण्डारी सहितका समिति सदस्यहरुले स्थलगत निरीक्षण गरी उपर्युक्त ठहर्‍याएका हुन् ।

क्वारेन्टाइनको प्रयोगका लागि प्राकृतिक चिकित्सालयमा ३० देखि ४० शैय्या, आर्ट अफ लिभिङमा ३० सैया, अर्याल होटलमा ४२ सैया, रानीमहलमा ३० सैया सम्म राख्न सकिने बताइएको छ । यी क्वारेन्टाइन केन्द्रहरुमा सरकारद्वारा तोकिएको मापदण्ड अपुग भए सो पनि पुरा गरेर मात्र प्रयोगमा ल्याइने महानगर प्रमुख विद्या सुन्दर शाक्यले बताए ।

महानगरका ३२ वटै वडालाई पुर्णतया परिचालन गरिएको हुँदा एकै पटकमा ठूलो संख्याका लागि क्वारेन्टाइन व्यवस्था गर्न परे पनि महानगर तयारी अवस्थामा रहेको शाक्यको भनाइ थियो ।

त्यसैगरी सहकारी विभागको भवन, ट्रली बसको भवनलाई पनि प्रयोगका लागि अन्तिम चरणको कुराकानी भइरहेको सांसद दुलालले बताए ।

अप्ठ्यारो अवस्था आइ परे यस क्षेत्रका शैक्षिक संस्थाहरु, होस्टल लगायत सँग कुराकानी भइरहेको जसले एकै पटकमा ५००० जनालाई क्वारेन्टाइन व्यवस्था गर्न परे पनि तयारी अवस्थामा रहेको उनले बताए ।

संविधानसभा भवन रहेको यस क्षेत्र संसारकै चर्चित ठाउँ भएकाले सानो गल्तीले पनि ठूलो नोक्सानी हुन सक्ने र रोग आफैंमा खतरनाक देखिएकाले बढि सचेत हुन पर्ने अवस्था रहेको वडा अध्यक्ष भण्डारीले बताए ।

रातदिन मेहनत गरेर वडा तथा महानगरवासीहरुलाई सचेतना एवं ढाडस प्रदान गर्दै कोरोना विरुद्धको महामारीलाई सहजतापूर्वक परास्त गरिने पनि सम्पूर्ण जनप्रतिनिधिहरुको भनाइ रह्यो । क्वारेन्टाइन व्यवस्थापनका लागि अडानका अध्यक्ष मोहन रेग्मीको पनि उत्तिकै सक्रियता देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्