राष्ट्रपतिबाट चौथो निर्वाचन दिवस विशेष समारोह समुद्घाटन



०७ फागुन २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले चौथो निर्वाचन दिवसका अवसरमा आज आयोजित विशेष समारोहको समुद्घाटन गर्नुभयो ।

कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा आयोजित उक्त विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना २०७६–८१, निर्वाचन स्मारिका र निर्वाचन न्याय, स्रोत पुस्तिका अर्पण गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपतिले आयोग र मातहतका कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने पाँच कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । पुरस्कार प्राप्त गर्नेमा सहसचिव गिरिजा शर्मा, शाखा अधिकृत नम्रता चुडाल, जिल्ला निर्वाचन अधिकृतद्वय महेश शर्मा र इन्दिरा यादव तथा कम्प्युटर अधिकृत दिनेशकुमार राई हुनुहुन्छ ।

समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री र मन्त्रिगणको उपस्थिति थियो ।

संवैधानिक आयोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, पूर्वप्रमुख आयुक्त र आयुक्त एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु समारोहमा सहभागी हुनुहुन्थ्यो ।

विसं २०१५ फागुन ७ गते पहिलो संसदीय आमनिर्वाचन प्रारम्भ भएको दिनको सम्मानमा २०७३ सालबाट फागुन ७ गतेको दिनलाई निर्वाचन दिवसका रूपमा मनाइँदै आएको छ । ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन ः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ चौथो निर्वाचन दिवस बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्