प्रेम !



०२ फागुन २०७६, काठमाडौं

प्रेमले मनमा बेग्लै उथलपुथल ल्याउँछ ।

खुसी र उमंग ल्याउँछ । तनाव पनि उत्तिकै दिन्छ । जब हामी प्रेममा हुन्छौं, मस्तिष्कमा कोर्टिसोल रिलिज हुन्छ ।

यही तनाव पैदा गर्ने हार्मोनको कारण हामी अधैर्य हुन थाल्छौं । त्यसैले हाम्रो धैर्यताको परीक्षा सामान्यभन्दा बढी हुन्छ । यही समय प्रेमी–प्रेमिकाले प्रायः सुन्दर सपना देख्छन्–देखाउँछन् ।

तर, विवाहपछि कैयन अवस्थामा तिनै प्रेमकालमा देखिएका र देखाइएका सपनाहरू नै सम्बन्ध भत्काउने कमजोर खम्बा सावित भइदिन्छन् । विवाहपछि प्रेमी र प्रेमिका आपसमा पति र पत्नीमा परिणत हुन्छन् ।

एउटा मान्छेको जीवनमा प्रेमी र प्रेमिका हुनु र श्रीमान् -श्रीमती हुनुका काम–कर्तव्यहरू नै फरक हुन्छन् । हिजोआजका कैयान सम्बन्ध सम्बन्धको अर्थ नबुझेर पनि भत्किरहेका उदाहरणहरु टन्न पाइन्छन् ।

समाजका प्रेमी–प्रेमिकाले निर्वाह गर्ने भूमिका र श्रीमान्–श्रीमतीले निर्वाह गर्ने भूमिका निकै फरक हुन आउँछ । यही भूमिकाको महत्वलाई नबुझ्दा सम्बन्धमा ठूलो खाँडल पर्न आउँछ ।

कुनै पनि सम्बन्धको बलियो आधार भनेको विश्वास हो । जबसम्म विश्वास कायम रहन्छ तबसम्म त्यो सम्बन्ध टुट्दैन, चाहे श्रीमान्–श्रीमतीको होस् वा अरु कसैको । एकले अर्कालाई गरेको विश्वासमा धमिलोपना नआउने हो भने सम्बध युगौं–युगसम्म बलियो रहन्छ ।

जब सम्बन्धमा विश्वासको संकट पैदा हुन्छ तब शुरु हुन्छ वैचारिक द्वन्द्व अनि टुट्छ मानवीय मनसँग जोडिएको सम्बन्ध अदालतका कागजी खेस्राहरूको रुपमा।

मान्छे समयसँगै परिवर्तन हुनुपर्छ । तर, आफ्नो धरातल नै बिर्सिने गरी चाहिँ कदापि होइन।

[मनमा लागेको कुरा] सन्दर्भ : प्रणय दिवस

प्रतिक्रिया दिनुहोस्