सर्लाहीमा लागुऔषधसहित चार पक्राउ



०२ फागुन २०७६,सर्लाही

ईश्वरपुरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । ईश्वरपुर नगरपालिका–१३ श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट १० लेखिएको ३०० ट्याब्लेट, स्पास्मो १४४ ट्याब्लेट र एक्सप्लोन सिरफ पाँच हजार १०० मिलीलिटर बरामद गरेको इलाका प्रहरी कार्यलय केशरगञ्ज बयलवासले जनाएको छ ।

बुधबार दिउँसो गस्ती गर्ने क्रममा सो परिमाणको अवैध लागुऔषध बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सो परिमाणको लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–२ का २० वर्षका खगेन्द्र महतो, बर्दिबास–३ का २० वर्षका सुजित मगर, बर्दिबास–१ का २२ वर्षका सरोज बलम्पाकी मगर र बर्दिबास–१४ का ३१ वर्षका दिलबहादुर मगर रहेको उहाँले बताउनुभयो । पक्राउ परेका युवाले प्रयोग गरेको बा३९प ६०३ र ज८प ५४२१ नंका दुई मोटरसाइकलसहित छ थान मोबाइलसमेत बरामद गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो । पक्राउ परेका चारै जनाका सम्बन्धमा आवश्यक अनुसन्धानका लागि म्याद थप गरिएको आज पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्