प्रेम दिवसमा ‘सयको गुन’



१४ माघ २०७६,काठमाडौं

गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा र विष्णु माझीले स्वर दिनुभएको छ । गीत बजारमा आएको एक हप्ता नपुग्दै छ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ ।

गीतमा सङ्गीत थापाकै हो भने शब्द प्रह्लाद सुवेदीको रहेको छ । सङ्गीत संयोजन आशिष अविरलको हो । सुनिल क्षेत्री र मरिस्का पोख्रेलले भिडियोमा अभिनय गर्नुभएको छ । अभ्यास डिजिटलले बजारमा ल्याएको गीतलाई थापाले आफ्नै नामको व्यक्तिगत युट्युब च्यानलमार्फत बजारमा ल्याउनुभएको हो । यसअघि उहाँले सुमधुर झ्याउरे लयमा सङ्गीत गरेको ‘सालको पातको टपरी’ बोलको गीतले नेपाली लोकगीतको क्षेत्रलाई एकैपटक माथि पुर्याएको छ ।

‘सालको पात’ले अत्यधिक चर्चा पाएपछि अन्य सङ्गीतकार र गीतकारले पनि सोही गीतलाई पछ्याएर शब्द र सङ्गीत भर्ने गरेको पाइन्छ । ‘सालको पातको टपरी’ अत्यधिक दर्शकले रुचाएको गीत हो । युट्युबमा यो गीत पाँच करोड ६० लाखभन्दा धेरै पटक हेरिएको छ ।

यस्तै थापाले सङ्गीत गरेर माझी र उहाँ आफैँले स्वर दिएको ‘लोभी आँखा’ बोलको गीत युट्युबमा दुई करोड १७ लाख बढी पटक हेरिएको छ । ‘उही खोलीमा पानी’ एक करोड ४३ लाख र ‘चौतारीको वर’ एक करोड २४ लाख बढी पटक हेरिएको छ ।

थापा यतिबेला धेरै आम्दानी गर्ने कलाकारको सूचीमा रहनुभएको छ । पछिल्लो समय उहाँका सङ्गीतका धेरै गीत बजारमा आउन थालेका छन् । “सङ्गीतमा व्यस्त रहँदा आयोजकले निमन्त्रणा गर्दा विभिन्न ठाउँमा हुने मेला महोत्सवमा समेत जान पाएको छैन”, उहाँले भन्नुभयो, “सङ्गीत गर्न र गीत गाउनमै व्यस्त छु ।” उहाँले ‘सयको गुन’ बोलको गीत प्रेम अर्थात् भ्यालेन्टाइन दिवस(फेब्रुअरी १४)लाई लक्ष्य गरेर बजारमा ल्याउनुभएको हो । सो गीत पनि दर्शकको रोजाइमा पर्नेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।

“पछिल्लो समयमा लोकगीतको महत्व उच्चस्तरले बढेर गएको छ”, थापाले भन्नुभयो, “पहिले, पहिले लोकगीत शहरमा त्यति बज्दैन्थे, अहिले शहर बजारमा पनि अत्यधिक घन्केको पाउँदा निकै खुशी लाग्ने गरेको छ ।” उहाँले लोकगीतप्रतिको आकर्षणलाई अझै बढाउन स्रष्टाले उत्कृष्ट सिर्जना पस्कनमा कुनै कञ्जुस्याइँ गर्न नहुने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्