रथी गौरवको सम्पत्ति विवरणः बैंकमा ७७ लाख, झापामा ५ विघा जग्गा



०१ माघ २०७६, काठमाडौं

नेपाली सेनामा सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रम शुरु भएको छ।

नेपाली सेनाका रथी गौरव ताण्डुलले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनी नेपाली सेनाको दोश्रो वरियताका रथी हुन्। नेपाली सेनामा दुई जना मात्रै रथी हुन्छन्।

यसअघि प्रधानसेनापति पुर्णचन्द्र थापाले गत गत २३ भदौमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। ताण्डुलले सार्वजनिक गरेको विवरण अनुसार श्रीमती मुनादेवी उप्रेती ताण्डुलको नाममा २० आना १ पैसा जग्गामा धापासीमा साढे २ तले घर छ।

त्यस्तै भरतपुरमा १० धुर जग्गा र १ तले घर छ भने झापामा उनकी श्रीमती मुनादेवीको नाममा ५ विघा जग्गा छ। उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौं महानगरपालिका वडा नं ३९ मा ६३.५८ बर्ग मिटर जग्गा र पोखरमा ९ आना ३ पैसा जग्गा छ।

बलाध्यक्ष रथी ताण्डुलसँग ३५ तोला सुन, ९ केजी चाँदी र केही मात्रामा हिरा–मोति रुवि र निलम रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ। विभिन्न वाणिज्य बैंकमा उनको नाममा ७७ लाख ३५ हजार रुपैयाँ छ।

सैनिक कल्याणकारी कोषबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका ताण्डुलले १ लाख ६८ हजार रुपैयाँ तिरेको उल्लेख गरेका छन्। आफूसँग होण्डा साइनको मोटरसाइकल रहेको उनले उल्लेख गरेका छन्।

उनले पुर्ख्यौली सम्पत्ति, श्रीमतीले ल्याएको दाइजो र केही आफ्नो कमाइबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्