सभापतिसँग पार्टी सञ्चालनको योजना छैन : महामन्त्री कोइराला



२६ पुस २०७६, काठमाडौं

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ ।”

शुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उहाँको भनाइ थियो । अहिलेसम्म सङ्गठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन सकेको छैन कोइरालाले थप्नुभयो ।

सभापतिप्रति कडारुपमा प्रस्तुत बन्नुभएका महामन्त्री कोइरालाले अबका दिनमा काँग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बताउनुभयो । सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्