पक्राउ परेका चिनियाँलाई लिन बुधबार चार्टर विमान आउँदै



२१ पुष २०७६, काठमाडौं

नेपालमा आई विभिन्न आपराधिक कार्य संचालन गरिरहँदा पक्राउ परेका १२२ जना चिनियाँलाई लिन बुधबार चीनबाट चार्टर विमान आउने भएको छ।

नेपालस्थित चिनियाँ दूतावासले सोमबार अपराह्न अध्यागमन विभागलाई नेपालमा पक्राउ परेका १२२ जनाको इन्ट्री परमिट बुझाएलगत्तै उनीहरुलाई फिर्ता लैजाने प्रक्रिया शुरु गरेको हो।

बुधबार साँझ चाइना साउदर्न र चाइना इस्टर्नका जहाजमा क्रमशः ८० जना र ४२ जनाको बेग्लाबेग्लै टोली बनाएर फिर्ता लैजान दूतावासले विभागलाई पत्राचार गरेको छ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालमा पक्राउ परेका १२२ जनालाई अध्यागमन कानुनअनुसार कारबाही गरेर फिर्ता पठाउने अन्तिम तयारी भइरहेको बताए।

उनले नेपाली भूमि प्रयोग गरेर चीनविरुद्ध अपराधमा संलग्न व्यक्तिहरु भोलिका दिनमा नेपालका लागि समेत खतरा बन्नसक्ने उनको भनाई छ। ‘हामी फिर्ता पठाउने अन्तिम तयारीमा छौं,’ महानिर्देशक पौडेलले भनेका छन्,

गत ७ पुषमा केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा प्रहरीको अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त कारबाहीमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए।

नेपालमा बसेर चीनमा अनलाइन जुवा, बैंकिङ कसुर र अनलाइनमा अश्लील यौनजन्य सामग्रीको अवैध कारोबारमा संलग्न उनीहरु पर्यटन भिसामा नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्