चिसोले राउटे बालबालिका बिरामी



१३ पुष २०७६, काठमाडौं

जंगलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ।

अत्यधिक चिसोबाट जोगाउन विभिन्न संघसंस्थाको सहयोगमा ति समुदायलाई बस्तीमै पुगेर ४ लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो। ज्याकेट, कम्बल, हाइनेक, चामल, पीठो, घिउलगायतका सामग्री वितरण गरिएको राउटे उत्थान प्रतिष्ठान नेपालले जनाएको छ।

ति समुदायका मागअनुसार न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरिएको बताइएको छ। ‘राउटे अगुवाले चिसोले सतायो’ भनेर खबर पठाएपछि विभिन्न व्यक्ति, संघसंस्थाबाट सहयोग जुटाइएको बताइएको छ।

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताए। “चिसो ह्वात्तै बढेपछि बालबालिकालाई समस्या भएको छ। हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ”, उनले भने, ‘कपडा पाएपछि अलि राहत मिलेको छ।’

ति समुदाय हाल दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्