देशका विभिन्न क्षेत्रका युवाहरुसँग नवलपुरमा अन्तरक्रिया तथा छलफल सम्पन्न



२६ मंसिर २०७६, नवलपुर/दिपक शर्मा

राष्ट्रिय युवा परिषद्को युवा अनुभव आदानप्रदानको लागि देशका विभिन्न क्षेत्रबाट आएका युवा समुहसँग नवलपुरमा समेत अन्तरक्रिया तथा विदाइ गरिएको छ ।

नवलपुरमा रहेको जागृति बाल तथा युवा सरोकार नेपालले पर्यटकीय हिसावले उत्कृष्ट गन्तव्यको रुपमा रहेको शास्वत धाम परिसरमा देशभरका १२ भन्दा बढी विभिन्न संस्थाका २५ जना युवा उद्यमीहरुसँग कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपालमा युवाहरुलाई उद्यमशिलता तर्फ अगाडी बढाउनको लागि र युवाहरुद्धारा सञ्चालन गरिएका विभिन्न उद्यम तथा व्यवसायहरुको अवलोकनको लागि आएको उक्त समुहलाई नवलपुरको कावासोतीमा रहेका भैसी फारम र हुप्सेकोटमा रहेको तरकारी तथा कृषि व्यवसायीहरुसँग अन्तरक्रिया तथा स्थलगत अध्ययन समेत गराईएको कुरा राष्ट्रिय युवा परिषद्का उप सचिव देवि प्रसाद अधिकारीले जानकारी गराए ।

उक्त अध्ययन एवम् अवलोकन भ्रमणमा गण्डकी प्रदेश र प्रदेश नं. ५ का विभिन्न जिल्लाहरुमा रहेका युवा उद्यमीहरु र व्यवसायीहरुसँग अन्तरक्रिया, छलफल तथा स्थलगत अध्ययन गराईने योजना रहेको छ ।

नवलपुरमा सञ्चालन गरिएको छलफल कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालको तर्फबाट आफ्नो संस्थाको परिचय र नवलपुरको बारेमा प्रस्तुतीकरण साथै समुहलाई स्वागत तथा विदाई गरिएको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले जानकारी दिए ।

भ्रमण ४ दिनसम्म सञ्चालन हुने र यसबाट युवाहरुले नयाँ सिप र प्रविधिको साथै आफुले उद्यमशिलताको लागि सिपहरु समेत सिक्ने विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्