राइड थ्रु सिन्धुलीगढी साइकलात्रा जनकपुरमा, राम मन्दिरमा पूर्वउपप्रधानमन्त्री निधीले गरे स्वागत,  सम्मानमा झिँझिया नाइट्स आयोजना



०९ मंसिर २०७६, काठमाडौं

राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको टोली तेस्रो दिन जनकपुरधाम पुगेका छन् । काठमाडौंको पशुपतिनाथबाट हिँडेका २ सय ११ जना साइकलयात्रीलाई जनकपुरमा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले स्वागत गरेका थिए । साइकल यात्रीलाई काठमाडौंमा संघीय सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्यि झण्डा र राइडथ्रु सिन्धुलीगढीको झण्डा विश्व साइकलयात्री पुस्कर शाहले दिएर विदाइ गरेका थिए । ती झण्डा जनकपुरमा शाहले पूर्वउपप्रधानमन्त्री निधीलाई हस्तान्तरण गरेका छन् ।

जनकपुरमा आयोजित स्वागत कार्यक्रममा निधीले यस प्रकारको सद्भाव यात्राले मुलुकलाई सांस्कृतिक रुपमा जोड्ने बताए । तपाईंहरुले सरकारले गर्नुपर्ने काम गर्नु भएको छ, उनले भने, यसले पर्यटन प्रबर्धनमा उल्लेख्य रुपमा सघाउने छ ।

कार्यक्रममा साइकलयात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले दुई सांस्कृतिक सहर काठमाडौं र जनकपुरधाम, पहाड र तराई, ३ नम्बर प्रदेश र २ नम्बर प्रदेश जोड्न साइकल यात्रा आयोजना गरिएको बताए । अंग्रेजलाई पहिलो पटक परास्त गरेको स्थल ऐतिहासिक सिन्धुलीगढीहुँदै यो साइकलयात्रा सम्बन्ध मजबुत बनाउने सेतु पनि हो, उनले भने,  हरेक नेपालीलाई हाम्रो पुर्खाले बीरता देखाएको स्थल एक पटक पुग्न पर्ने सन्देश हामी साइकल यात्रा मार्फत दिन चाहन्छौं ।

जकपुरधाममा आयोजित स्वागत कार्यक्रममा मैथिल संस्कृति र कला समेटिएको झिँझिया नाइट्स् आयोजना गरिएको थियो । साइकल यात्राको सह आयोजक सानो पाइलाले संयोजन गरेको कार्यक्रममा मैथिल कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेर साइकलयात्रीलाई मनोरंजन प्रदान गरेका थिए ।

यस अघि दोस्रो दिन सिन्धुलीमाढीमा बसेका साइकलयात्रीलाई आइतबार विहान नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ सिन्धुलीले विदाइ गरेको थियो । त्यसपछि यात्रीलाई माइस्थानमा कमलामाई कृषि तथा पशुपालन फार्मले स्वागत गरेको थियो । त्यसपछि चुरेमा श्रेष्ठ परिवारले स्वागत गरेका थिए । त्यहाँबाट टोली धनुषाको बाहुनमाराहुँदै महोत्तरीको बर्दिबास पुगेको थियो । त्यहाँ बार्दिबास नगरपालिका, नेपाल होटेल तथा पर्यटन व्यावसायी संघ महोत्तरी, नेपाल होटेल तथा पर्यटन व्यावसायि संघ प्रदेश नम्बर २ ले स्वागतसहित खाना खुवाएका थिए । धनुषाको ढल्केबरमा मिथिला नगरपालिकाका र सामुदायिक बन महासंघ प्रदेस नम्बर २ ले स्वागत गरेका थिए । साइकलयात्रीको स्वागतमा सांसद् सत्रुधन महत्तो मिथिला नगरपालिकाका प्रमुख सहभागी थिए । साइकलयात्रीलाई धारापानीमा समेत भब्य स्वागत गरिएको थियो । त्यहाँबाट साइकलयात्री धनुषाधाम मन्दिर दर्शन गरेर जनकपुरधाम पुगेका थिए ।

साइकल यात्रीलाई काठमाडौंदेखि जनकपुरधामसम्म पुग्दा बाटोमा पर्ने स्थानीय सरकार, संघसंस्था, सेना, प्रहरी, शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाहरुले स्वतस्फुर्त भब्य स्वागत गरेका थिए ।

यस बर्षको साइकल यात्रामा महिलाको संख्या उल्लेख्य छ । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएकाले महिलाको संख्या धेरै भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार बर्षदेखि राइड थु्र सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थु्र सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । यस बर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन्, आयोजक समृद्द सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, हाम्रो साइकलयात्राले अन्तराष्ट्यि पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो ।

साइकलयात्रामा ९ बर्षका बालक शुभम् राईदेखि ६६ बर्षका सोनाम गुरुंगसम्म सहभागी छन् । यात्रामा ससस्त्र प्रहरीका पूर्व महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाल प्रहरीका बरिष्ठ उपरीक्षकलगायतका अधिकृतहरु, सेनाका बरिष्ठ अधिकृतहरु कलाकार, अभिनेतासमेत सहभागी छन् । यस बर्षको साइकलयात्रामा उत्साहजनक सहभागिताले आफूहरु निकै उत्साहित भएको अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताए । काठमाडौंबाट हिडेका साइलयात्री झण्डै २ सय ५० किलोमिटर यात्रा पूरा गरेर आइतबार जनकपुरधाम आइपुगेका हुन् ।

तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्ने अभियानको योजना अनुसार ४ बर्षदेखि हरेक बर्ष राइड थ्रु सिन्धुलीगढी साइकलयात्रा आयोजना गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्