राइड थ्रु सिन्धुलीगढीका २११ साइकलात्री सिन्धुलीको मुलकोटमा, बाटोभरि भब्य स्वागत, विश्व साइकलयात्री पुस्कर शाहसँग फोटो खिचाउन तँछाडमछाड



०८ मङ्सिर २०७६, काठमाडौं

राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको टोली सिन्धुलीको मुलकोट पुगेको छ । साइकल यात्रामा २ सय ११ जना यात्री सहभागी छन् । तिनमा पुरुष १ सय ५० जना र महिला २१ जना साइकलयात्री र ३० जना सहयोगी छन् ।

काठमाडौंको पशुपति मन्दिरदेखि ऐतिहासिक सिन्धुलीगढीहुँदै जनकपुरको जानकी मन्दिरसम्म हुने साइकलयात्राको पर्यटनमन्त्री योगेश भट्टराई, पूर्वमन्त्री हरिवोल गजुरेल, सांसद गणेश पहाडी लगायतले पशुपतिनाथ मन्दिर परिसरबाट विदाइ गरको  थियो । त्यस अबसरमा मन्त्री भट्टराईले विश्व साइकलयात्री पुस्कर शाहलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए । त्यस्तै साइकलयात्राको नेतृत्व गर्ने देवेन्द्र बस्नेतलाई मन्त्री भट्टराईले राइड थ्रु सिन्धुलीगढीको झण्डा हस्तान्तरण गरे । त्यस्तै पूर्वमन्त्री हरिवोल गजुरेलले महिला साइकलयात्रीको नेतृत्व गर्ने सजल प्रधानलाई राइड थ्रु सिन्धुलीगढी २०१९ को झण्डा हस्तान्तरण गरेका थिए । अर्का सांसद गणेश पहाडीले सबैभन्दा कम उमेरका साइकलयात्री सुयोगमानसिंह बस्न्यातलाई नेपालको झण्डा हस्तान्तरण गरे ।

साइकल यात्रीहरु पशुपति मन्दिर परिसरबाट सिनामंगल कोटेश्वरहुँदै भक्तपुर पुगेपछि भक्तपुर पर्यटन बोर्डले स्थानीय जुजु द्यौ (दही) ले स्वागत गरेको थियो । त्यसपछि साइकलयात्रीलाई बनेपामा सुलभ सहकारीले भब्य स्वागत सहित विहानको खाजा खुवाएको थियो । यस्तै हनुमान माविले काभ्रेभञ्ज्याङमा र नमोबुद्ध नगरपालिकाले भकुन्डेबेसीमा स्वागत गरेका थिए । नेपाली सेनाले भकुण्डेबेसीमा साइकलयात्रीका लागि स्वास्थ्य शिविरको आयोजना गरेको थियो । यात्राका क्रममा मंगलटारमा मानसरोबर श्रेष्ठले खाजासहित स्वागत गरेका थिए । त्यसपछि सिन्धुली जिल्ला प्रवेश गरेपका साइकलयात्रीलाई सुनकोसी गाउपालिकाले ऐतिहासिक कुशेश्वर महादेव मन्दिर परिसरमा भब्य स्वागत गरेको थियो । त्यहाँ सांसद लेखनाथ (राजन) दाहाल, सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहरालगायतले सबै साइकलयात्रीलाई सयपत्रीको मालाले स्वागत गरेका थिए । सुनकोशी गाऊपालिकाले साइकलयात्रीलाई बिहानको खाना त्यहीँ खुवाएको थियो । त्यसपछि साइकल यात्रीहरुलाई झाङाझोलीको पुरानो बजारमा स्थानीय बासिन्दाले माछा र अण्डाले स्वागत गरेका थिए । त्यहाँ स्थानीय उदाहरण क्लवले सइकलयात्रीको स्वागतमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । साइकलयात्रा यहाँ पुरानो बजारहुँदै मुलकोट निस्केको थियो ।

मुलकोटमा मुलकोट बिकास समाजको संयोजनमा साइकलयात्रीको स्वागतमा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ राष्ट्यि कलाकारहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रममा सहभागीहुने सबैलाई नेपाल टेलिकमले फोर जी सीम निशुल्क वितरण गरेको थियो । यात्राभर विश्व साइकलयात्री पुस्कर शाह सबैको आकर्षण बनेका छन् । उनीसँग सेल्फी खिच्न यात्राको बाटोमा भेटिएका स्थानीयहरु झुम्मिएका थिए ।

साइकल यात्रीलाई काठमाडौंदेखि मुलकोटसम्म स्थानीय सरकार, संघसंस्था, सेना, प्रहरी, शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाहरुले स्वतस्फुर्त रुपमा गरेको स्वागतले हामी निकै उत्साहित भएका छौं, साइकल यात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, राइड थ्रु सिन्धुलीगढीमा जसरी साइकलयात्रीको सहभागीता बढ्दै गएको छ, त्यसैगरी सर्बसाधारणको उत्साह पनि चुलिँदैछ ।

यस बर्षको साइकल यात्रामा महिलाको संख्या उल्लेख्य छ । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएकाले महिलाको संख्या धेरै भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवर्द्धन गर्न चार बर्षदेखि राइड थ्रु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । यस बर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तर्राष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन्, आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, हाम्रो साइकलयात्राले अन्तर्राष्ट्रिय पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो ।

साइकलयात्री शनिबार ऐतिहासिक सिन्धुलीगढी हुँदै सिन्धुलीमाढी पुग्नेछन् । बाटोमा पर्ने गोलन्जोर गाउँपालिकाको खनियाँखर्कमा जुनार सुपरजोन कार्यक्रम र स्थानीय जुनार सहकारीले साइकलयात्रीको स्वागतमा जुनार महोत्सव राखेका छन् । महोत्सवको उद्घाटन ३ नम्बर प्रदेशका पर्यटन मन्त्री अरुण नेपालले गर्नेछन् । त्यसपछि साइकलयात्री सिन्धुलीगढी क्षेत्रको अबलोकन गरेर साँझ सिन्धुलीमाढी पुग्नेछन् । त्यहाँ स्थानीय नेपाली कलाघरले साइकलयात्रीको स्वागतमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंबाट हिडेका साइलयात्री झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर आइतबार जनकपुर पुग्ने छन् ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढीहुँदै जोड्ने छ । राइड थ्रु सिन्धुलीगढीले पहाडलाई तराईंसँग र ३ नम्बर प्रदेशलाई २ नम्बर प्रदेशसँग भाबनात्मक रुपले जोड्ने छ, साइकलयात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने ।

तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रवर्द्धन गर्ने अभियानको योजना अनुसार ४ बर्षदेखि हरेक बर्ष साइकलयात्रा आयोजना गरिँदै आएको छ ।

      

प्रतिक्रिया दिनुहोस्