सङ्कटमा छन् एकल महिला



०३ मङ्सिर २०७६, रोल्पा

विवाह भएको पाँच वर्षमै श्रीमान्को मृत्यु भएपछि रोल्पा नगरपालिका–२ रेउघाकी ४० वर्षीया देवीकला घर्तीको जीवन उजाडिएको छ । दुई नाबालक छोराछोरी हुर्काउँदै सुन्दर भविष्यको सपना देखेकी उनी यतिबेला रोल्पा अस्पतालको शय्यामा जीवन मृत्युको दोसाँध छिन् ।

सत्ताइस वर्षको उमेरमा श्रीमान् गुमाएर एकल जीवन बिताउँदै आएकी उनी श्रीमान्को मायाबाट वञ्चित भए पनि छोराछोरी हुर्के बढेसँगै आफ्ना सबै दुःख पीडा भुल्दै आएकी थिइन् । घरमै दुई÷चारवटा बङ्गुरपालन गरेर त्यसबाटै आएको आम्दानीले उनले घरव्यवहार चलाइआएकी थिइन् । ते¥ह वर्षीय छोरा र १५ वर्षीया छोरीले गाउँकै विद्यालयमा पढ्दै थिए । घरव्यवहार जसोतसो चल्दै थियो । एक वर्ष अघि उनको फोक्सोमा समस्या देखियो । रोल्पा अस्पताल आई परीक्षण गरिन् । फोक्सो सामान्य देखिए पनि दुःख दिइरहन्थ्यो । थप उपचारका लागि जिल्ला बाहिरका अस्पताल जान उनीसँग पैसा थिएन । औषधि किनेर सेवन गरिरहिन् । पहिलो पटक स्वास्थ्य परीक्षण गरेको एक वर्ष पछि पुनः परीक्षणका लागि रोल्पा अस्पताल पुगिन् । यस पटकको परीक्षणमा उनको फोक्सोमा क्यान्सर भएको देखियो । अहिले जिल्ला अस्पतालको शय्यामा बसेर जीवन रक्षा गरिदिन आग्रह गरिरहेकी छिन् ।

व्यथाले च्याप्न थालेसँगै उनले बङ्गुरपालन गर्न समेत छोडेकी थिइन् । आम्दानीको कुनै पनि स्रोत नभएपछि र दैनिक घर व्यवहार चलाउन मुश्किल परेपछि छोराछोरीसमेत अर्काको घरमा बसेर पढ्न बाध्य भएका छन् । “छोराछोरी नाबालक छन्, चार–पाँच वर्ष बाँच्न पाए भने उनीहरुको व्यवस्था गर्न सकिन्थ्यो कि भन्ने आशा लाग्छ,” भक्कानिँदै घर्तीले भनिन् । आफन्तहरुले उनको उपचारका लागि अर्थ सङ्कलन गरिरहेका छन् । “जिल्ला बाहिर लैजान सहयोग सङ्कलन गरिरहेका छौं,” उनकी आफन्त तीलसरी पुनले भनिन् ।

तीलसरीका अनुसार दाङमा बसोबास गर्दैआएका रोल्पालीहरुले एक लाख १४ हजार सहयोग गरेका छन् । यसैगरी, स्थानीय आमा समूह, एकल महिला समूह, वडा कार्यालय लगायतले पनि सहयोग गरेका छन् । “क्यान्सरपीडित घर्तीको सहयोगका लागि अहिलेसम्म तीन लाख जति सङ्कलन भएको छ,” रोल्पा नगरपालिका–२ की वडा सदस्य खती घर्तीले भनिन् । वडाध्यक्ष स्वयं उनको सहयोग सङ्कलनमा लागि परेका छन् ।

पीडित घर्ती थला परेसँगै उनका छोराछोरी आफन्तकामा आश्रय लिएर बस्न बाध्य भएका छन् । सङ्कलित रकम बुझ्दै क्यान्सर पीडित घर्तीले सहयोग रकमले उपचार गरी केही वर्ष बाँच्न सके छोराछोरीका लागि उच्च शिक्षासम्म पढाउन सकिने आशा व्यक्त गरिन् । “उच्च शिक्षासम्म पढाउन सकिए उनीहरुले केही गरेर खान सक्लान् भन्ने सोचाइ छ,” क्यान्सर पीडित घर्तीले भनिन् ।

जिल्लामा विभिन्न कारणले एकल बनेका महिला सबैले यस्तै समस्या भोग्दै आएको मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यको भनाइ छ । “यस्ता समस्या भोग्दै आएका एकल महिलालाई राज्यले विशेष ढङ्गले हेर्नुपर्छ,” अध्यक्ष आचार्यले भनिन् ।

तत्कालीन माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र द्वन्द्वमा समेत रोल्पाका ३२३ महिला श्रीमान् गुमाएर एकल भएका थिए । श्रीमान्को मृत्यु पछि त्यसरी एकल बनेका महिलाहरुमध्ये अधिकाँश यस्तै समस्याले ग्रस्त भएको बताइन्छ । उनीहरुको स्वास्थ्य तथा आश्रित बालबालिकाको शिक्षाको समेत राज्यले जिम्मेवारी लिनु पर्ने द्वन्द्वमा श्रीमान् गुमाएकी रोल्पा नगरपालिका–१० की धनमाया पुनले बताइन् ।

जिल्लामा विभिन्न कारण एकल भएका महिलाको सङ्ख्या छ हजार ५०० भन्दा बढी रहेको मानव अधिकारका लागि समूहका अध्यक्ष आचार्यले जानकारी दिइन् । एकल महिलालाई अर्थाभावका कारण आफ्ना सन्ततिलाई उच्च शिक्षा दिन र पालनपोषण गर्न समस्या भइरहेको छ । उनीहरु आफ्नै उपचारसमेत गराउन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्