विवाह गर्न भारतीयको सौराहा आउने क्रम बढ्यो



०२ मङ्सिर २०७६, काठमाडौं

भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि आउने क्रम बढेको हो ।

सौराहाका कुनै एक होटल दुईदेखि तीन रातका लागि पूरै भाडामा लिएर विवाह गर्ने गर्दछन् । साना होटल भए एउटा होटमा दुलाहा र अर्को होटलमा दुलही बसेर बाजागाजाका साथ जन्ती गएर विवाह गर्ने क्रम बढेको छ । ठूला होटल ‘बुक’ गर्दा एउटै होटलमा दुलाहा दुलही राखेर दुलाहालाई बजार परिक्रमा गरी रमाइलो गर्ने गर्दछन् ।

होटल सेभेन स्टार र बेष्ट उडका सञ्चालक माधव दुवाडीका अनुसार नोभेम्बर महिनामा मात्र दुई होटलमा दुई/दुईवटा विवाहको ‘बुकिङ’ रहेको छ । आज सेभेन स्टारमा भारतीय विवाह भएको भन्दै उहाँले दुई वा तीन दिन होटल बुक गरी विवाह गर्ने गरेको बताउनुभयो । एउटा विवाह गर्दा होटलको बगैँचा, सभाहल, कोठा र पानी प्रयोग गरेवापत रु पाँच लाख लिने गरेको दुवाडीको भनाइ छ ।

नअट्नेहरु बाहिर होटलमा बस्ने गर्दछन् । एउटा विवाहमा चार सय हाराहारी आउने गर्दछन् । खानादेखि बाजागाजासम्म सबैको तयारी समूह भारतबाटै आउने गर्दछन् । होटल वाइल्डलाइफ क्याम्पका सञ्चालक शङ्कर सैँजुको होटलमा गत वर्ष एउटा विवाह भएकामा यस वर्ष पनि अर्को विवाह भएको छ । यस वर्ष पट्नाबाट आएका एक जोडीले विवाह गरेको उहाँले जानकारी दिनुभयो ।

अन्य होटलहरुमा पनि विवाहका लागि बुकिङ भइरहेको छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका सैंजुले यसबाट अन्य पर्यटकहरुलाई असर नपरोस् भन्नका लागि सावधानी अपनाइएको बताउनुभयो । वन र वन्यजन्तुमा रमाउन पर्यटक आउने भएकाले विवाहका कारण असर नपरोस् भन्नका लागि आफूहरु सचेत रहेको सैंजुको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्षभन्दा यो वर्ष विवाह गर्न आउनेको सङ्ख्या बढेको छ । गत वर्ष सात÷आठवटा जति विवाह भएको भए पनि यो वर्ष त्यति विवाह भइसकेका छन् । भारतीय सीमा क्षेत्रबाट बढी विवाह गर्न आउने गरेको पाइएको छ । सो क्षेत्रमा मदिरा सेवन गर्न नपाउने भएपछि यहाँ आउने क्रम बढेको हो । मासु र मदिरा सेवन गरेर रमाइलोका साथ विदेशमा गएर कम खर्चमा विवाह गर्न चाहनेहरुका लागि सौराहा उपयुक्त थलो बनेको उहाँले बताउनुभयो ।

यस वर्ष धमाधम होटलहरुमा विवाह र बुकिङ हुने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । यसरी विवाह गर्न आउनेहरु सौराहामा हुने पर्यटकीय गतिविधिहरुमा सहभागी हुने गरेका छन् । यस क्षेत्रका पर्यटन व्यवसायीले गएका दुई वर्ष भारतीय सीमा क्षेत्रका शहरहरुमा पुगेर यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्