गजल ‘प्रदीप मैनाली’को!



२७ कार्तिक २०७६, काठमाडौं

दही छैन ठेकी छैन, मदानीको के काम!
तिमी छैनौ त यो, जवानीको के काम!!

पठाएका खबर नपुग्ने नै भए!
बेकार त्यो दर्ता, चलानीको के काम!!

मनको गीता बुझ्ने सीता छैनन् भने!
रामायणमा राम, कहानीको के काम!!

लाउँ माया भन्दा लाएकै छु भन्ने!
जाउँ सँगै भन्दा, नजानीको के काम!!

बलेको छ आगो बलुञ्जेल नतापे!
जलिसकेपछि, खरानीको के काम!!

डा. प्रदीप मैनाली‘स्वनाहम्’
काठमाडौं

प्रतिक्रिया दिनुहोस्