निराश जनतालाई उत्साहित बनाउन काङ्ग्रेस जित्नुपर्छ : नेता रिजाल



२६ कार्तिक २०७६, काठमाडौं

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताउनुभएको छ ।

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा उहाँले भन्नुभयो, “सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्न सक्नुपर्छ ।”

नेता रिजालले सरकार लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिदैं कर्मठ र त्यागी नेता खेमराज पौडेललाई पार्टीले कास्की क्षेत्र नं २ मा उम्मेदवार बनाएको बताउनुभयो ।

उहाँले देश र समाजप्रतिको त्याग, बलिदान एवं निष्ठाका पक्षमा मतदान गर्न आम मतदातालाई आग्रह पनि गर्नुभयो ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, विकृति, विसङ्गतिलाई रोक्न र सरकारलाई सही बाटोमा हिँडाउन यस चुनावमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो ।

घरदैलो कार्यक्रममा काङ्ग्रेस नेता डा रिजाल, उम्मेदवार पौडेल, कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार मूल समितिका संयोजक कृष्ण केसीलगायतका नेता तथा कार्यकर्ता सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्