नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा पौडेलको उम्मेदवारी



२४ कात्तिक २०७६, काठमाडौं

युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलताको विकासमा क्रियाशील नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा श्रीराम पौडेलले उम्मेदवारी दिएका छन् । पौडेलले काठमाडौं थापाथलीस्थित नेपाल जेसिजको मुख्यालयमा आज अपरान्ह ४ बजे उम्मेदारी दर्ता गरेका छन् । बालाजु जेसिजको मातृशाखा थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्य, बालाजु जेसिजका अध्यक्ष महेन्द्र भण्डारी, पूर्वअध्यक्षहरु दीपकराज भुषाल, गोविन्द खनाल लगायतको उपस्थितिमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

हरेक वर्ष हुने जेसिजको राष्ट्रिय महाधिवेशन यसपाली २०७६ पुस ९ देखि १२ सम्म चितवनको रत्ननगरमा आयोजना हुँदैछ । सो महाधिवेशनले निर्वाचनको माध्यमबाट जेसिजको नयाँ राष्ट्रिय नेतृत्व चयन गर्ने छ । महाधिवेशनले एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष निर्वाचित गर्नेछ । महाधिवेशनबाट निर्वाचित राष्ट्रिय अध्यक्षले एक महासचिव, एक कानूनी सल्लाहकार र एक कोषाध्यक्ष मनोनित गरेपछि जेसीजको राष्ट्रिय कार्य समितिले पूर्णता पाउनेछ । रत्ननगर जेसिजको आतिथ्यतामा हुने जेसीजको यो ४६ औं राष्ट्रिय महाधिवेशन हो । एक व्यक्ति, एक पद, एक कार्यकाल जेसिजको मूल मर्म हो ।

कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका पौडेल नेपाल जेसिजमा लामो समयदेखि सक्रिय छन्् । पौडेल जेसिजका सन् २०१८ का राष्ट्रिय महासचिव हुन् । उनी नेपाल जेसिजको बालाजु शाखाका संस्थापक अध्यक्ष समेत हुन् । उनको नेतृत्वमा जेसिजको बालाजु शाखाले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याएको थियो । सन् २०१७ मा उनलाई जेसिजले मुख्य तालिम आयुक्तको जिम्मेवारी दिएको थियो । त्यतिबेला जेसिजको तालिमलाई प्राज्ञिक तुल्याउन पौडेल लगायतले अतिरिक्त मेहनत गरेका थिए ।

ब्यवसायिक रुपमा चाहिं पौडेल विगत दुई दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय छन् । समन्वयात्मक नेतृत्व र व्यापक जनसम्पर्क पौडेलका विशेषता हुन् । कार्यकारिणी उपाध्यक्षमा निर्वाचित हुनेलाई जेसीजको भावी नेतृत्वको रुपमा हेरिन्छ ।

उम्मेदवारी दर्तापछि पौडेलले भने, “सामूहिक नेतृत्वको भावना विकास गर्दै १८ देखि ४० वर्षका युवाको व्यक्तित्व, नेतृत्व, व्यवसायिक विकास, मानवताको सेवा, विश्व बन्धुत्वको भावना र विधिको शासन कायम गराउन जेसिज समर्पित छ । युवाहरुलाई समाजप्रतिको दायित्व बोध, आर्थिक अनुशासन र समयबोध प्रति अभिप्रेरीत गर्न मैले उम्मेदवारी दिएको हुँ ।” उनी भन्छन्,  “जेसिजलाई देशकै एक नंबर मानवतावादी संस्था बनाउन मेरो सम्पूर्ण योग्यता समर्पित हुनेछ । म निर्वाचित भएमा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गर्दै जेसिजको पृथक पहिचानलाई नयाँ उचाइ दिनेछु ।”

जेसिजको उम्मेदवारी दर्ताको आज अन्तिम दिन हो । सो संस्थाको राष्ट्रिय अध्यक्षमा अरुणेश्वर खनाल, विकास मानन्धर र अशोक शंकरको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्