०५ कार्तिक २०७६, काठमाडौं
मदन भण्डारी अध्ययन केन्द्रको आयोजनामा भएको चिनियाँ राष्ट्रिपतिको ‘नेपाल भ्रमण : एक परिचर्चा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले कोही आत्तिनु नपर्ने बताएका छन् ।
राष्ट्रपति सीको भ्रमणले रेल, सडक र नाका खुलाउने कुरामा मात्रै नेपालको आर्थिक र सामाजिक प्रगतिमा सहयोग हुने नेता नेपालले बताएका छन् । चिनिया राष्ट्रपति सीले लुम्बिनी लगायत विभिन्न क्षेत्रको चर्चा गरेपछि नेपाल अन्तर्राष्ट्रिय जगतमा चासोको विषय बनेको समेत स्पष्ट पारे ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चिनिया राष्ट्रपति सीको भ्रमणले मुलुकको आर्थिक तथा पूर्वाधार विकासको लागि साझेदारीको सम्भावना हुने बताए । भूपरिवेष्टित राष्ट्रबाट नेपाललाई भू–जडित राष्ट्र बनाउनमा समेत राष्ट्रपति सीले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।
पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रपति सीको नेपाल आउनु नै ठूलो कुरा रहेको बताउँदै नेपाल भ्रमण वर्ष २०२० मा ठुलो सहयोग हुने र भ्रमणबाट नेपालमा चिनियाँ पर्यटक बढ्ने समेत बताए । राष्ट्रपति सीको नेपाल भ्रमण उत्साहजनक भएको बताउदै कम्युनिष्टले कस्तो अवस्थामा जनताको मन जित्न सक्छन् ? कस्ता सदस्य कम्युनिष्ट सदस्य हुन्छन् ? कस्तो पार्टी कम्युनिष्ट पार्टी हुन्छ भन्ने लगायतका कुराहरु समेत सिक्ने मौका पाएको बताए ।
यस्तै नेकपा नेता घनश्याम भुसालले सीको भ्रमण फलदायी भएको भन्दै नेपाललाई भू–परिवेष्टिबाट भूजडित बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले सीको भ्रमण गराएर राम्रो काम गरेको भन्दै सरकारको तारिफ गरेका थिए । अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न कुटनीतिक कौशलता आवश्यकता रहेको उल्लेख गर्दै त्यो कौशलता वर्तमान सरकारले देखाएको भन्दै प्रशंसासमेत गरे ।