अब महरा छिट्टै रिहा हुने संकेत !



३० असोज २०७६, काठमाडौं

संसद सचिवालयमा कार्यरत शाहीमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा छिट्टै रिहा हुने संकेत देखिएको छ । नेकपाको शीर्षस्थ नेतृत्व तहले महरा रिहा हुने सन्देश पार्टीका नेता कार्यकर्तालाई प्रवाह गर्न थालेका छन् । शाहीले गत १२ असोजको राति महरा आफ्नो तीनकुनेस्थित डेरामै आएर बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।

सत्तारुढ नेकपा सचिवालयको निर्देशनमा महराले गत १४ आसोजमा पदबाट राजीनामा दिएका थिए । राजीनामालगत्तै शाहीले महरा आफ्नो ‘बाबुसमान’ भन्दै यौन दुव्र्यवहार नभएको भन्दै आफूले लगाएका आरोप फिर्ता लिएकी थिइन्। तर, बडादशैंको समयमा प्रहरीले नियन्त्रणमा लिएर रोशनीलाई महराविरुद्ध उजुरी दिन लगाएको थियो। त्यसपछि उनी निवासबाटै पक्राउ परेका छन् ।

सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएका बेला अस्वस्थ भएपछि हाल महरालाई थापाथलीस्थित नर्भिक अस्पतामला राखिएको छ। मंगलबार अस्पतालबाटै महरालाई प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालत ल्याएको थियो। पछिल्लो समय शाहीले महरामाथि लगाइएको आरोप गलत भन्दै त्यसबारे प्रशारित सबै समाचार तथा अन्तर्वार्ता गलत भएको बताउँदै आएकी छन्।

उनले अदालतमा समेत त्यस्तै बयान दिएको खण्डमा मुद्दा कमजोर बन्न गई महरा रिहा हुनेछन्। अधिवक्तासमेत रहेका तत्कालीन संविधानसभाका सदस्य रेवतीरमण भण्डारीले शाहीले अदालत समक्ष बयानका क्रममा आफूमाथि दुव्र्यवहार नभएको बयान दिएको अवस्थामा महरा रिहा हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्