अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा एकको मृत्यु, दुई घाईते



३० असोज २०७६, काठमाडौं

आपसी झगडाका क्रममा एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा मकवानपुरमा एक महिलाको ज्यान गएको छ भने ती महिलाका श्रीमान् र अर्का एक व्यक्ति घाइते भएका छन्।

जिल्लाको बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएको हो।

पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायालाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल लगिएको थियो। उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जानकारी दिए।

पाख्रिनले प्रहार गरेको बञ्चरो मृतक लोको टाउकोसहित विभिन्न भागमा लागेको प्रहरीले बताएको छ।

पाख्रिनले सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तानलाई पनि बञ्चरो प्रहार गरेका छन्। बञ्चरो प्रहारबाट दुवैको टाउको र निधारमा चोट लागेको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्