ओखलढुंगाको ठाडेमा : मगर होम स्टे



२२ असोज २०७६, ओखलढुंगा

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ६ ठाडेमा जिल्लाकै पहिलो होम स्टे संचालन भएको छ ।

होम स्टेको बिधिवत उद्घाटनका गत हप्ता गरिएको हो । ओखलढुंगा सदरमुकामबाट ठाडे गाउँ हुँदै सोलुखुम्बुको सल्लेरी पुगिन्छ । ठाडे गाउँ समुद्री सतहबाट करिब २९०० मिटरको उचाईमा अवस्थित छ । यहाँबाट खुम्बु हिमश्रृंखलाको मनोरम दृश्य देख्न पाइन्छ । विश्वकै अग्लो हिमाल, संसारको आकर्षण, नेपालको गौरव सगरमाथा छर्लङ्ग देख्न पाइन्छ । यसका अलवा लोत्से, नुप्त्से, चोयु, अमादब्लम, कन्चन्जङ्घा हिमाल देख्न पाइन्छ । दक्षिणतर्फ एक्मुस्ट रुपमा महाभारत, चुरेपर्वत, भित्री मधेश देखिन्छ । यहाँ नजिकै प्रख्यात चाङगेस्थान देवालय छ । वरपरका देउराली चित्रे गाउँमा गुम्बा पनि छन । ठाडेमा मगर समुदायको बाहुल्यता रहेको सानो गाउँ छ । अतिथी सत्कारमा स्थानीय मगरहरु निकै लोकप्रिय छन । मिठो बोलि, मुस्कान सहितको हासोले त्यहाँ पुग्ने जो कोहिलाई पनि लोभ्याउछ ।

पुरातत्विक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको जन्तरखानी गाउँ ठाडेबाट एक घण्टाको पैदल यात्रामा पुगिन्छ । बाटोमा चराचुरुङ्गी, कालिज, भ्याकुर, डाफे जस्ता चराचुरुङ्गी र मृग घोरल देख्न पाइन्छ । ठाडेमा छिन मै घाम लाग्छ । एकछिनमा फेरि बादल कुहिरोले घपक्क ढाक्छ । हमेसा चिसो नै हुन्छ । हावा सिर्सिरर चलिरहन्छ । हिउँदमा हिउँ पर्छ । स्वदेशी तथा बिदेशी पर्यटक हिउँ खेल्न ठाडेमा झुम्मिन्छन । मनोरम दृश्यको फोटो खिच्नका लागि यात्रुहरु ठाडेमा रमाउँछन ।

ठाडेको मगर होम स्टे स्थानीय रिल्दुक, गोर्माली, स्याक्पा परिकारका लागि प्रशिद्ध छ । साथै उवा, सेतो सिमिको बिरौला, दाल, फापर, बुङ्गको आलु, चौरी गाइको दुध, लोकल माली गाईको दुध, लोकल कुखुराको मासु, लोकल खसिको मासु, नुन चिया, पुरी र  आलुको चाना लगायतका नेपाली खाना सेट पाइने होम स्टे सचालक पारस मगरले जानकारी दिएका छन् ।

यहाँको रानी बाँको, भुइँ ऐसेलू, चिराइतो जस्ता महत्वपूर्ण जडिबुटी देश विदेशमा प्रख्यात छ । न्यून खर्चमा बिदाको सदुपयोग गर्न, ग्रामीण परिवेश बुझ्न, हिमाल हेर्न, योग ध्यान गर्न, ट्रेकिङ गर्नेहरुका लागि ठाडेको मगर सामुदायिक होम स्टे प्रभावकारी रहेको होम स्टे संचालक सुजन मगरले बताएका छन् ।

ग्रामीण स्तरमा पर्यटन प्रवर्द्धनका लागि होम स्टे संचालन लगायतका प्रयासले पर्यटन वर्ष २०२० लाई सफल बनाउन सघाउ पुर्याउने समेत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्