असोज १० देखि नयाँ नोट साटिने



०३ असोज २०७६, काठमाडौं

चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशँैको अवसरमा बढी हुने गरेको छ ।

के गाउँ, के शहर सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ । आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले यही असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैँ पर्वमा खासगरी साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामा उपलब्ध हुने जनाएको छ ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयमा समेत चाडबाडलाई केन्द्रमा राखेर नयाँ नोट साटन पाइने उल्लेख छ । बैंकले रु पाँच, दश, २०, ५० र १०० दरका एक÷एक पकेट गरी प्रति व्यक्ति रु १८ हजार ५०० का दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ ।

सो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने बैंकको भनाइ छ । यस्तै बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ । यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो ।

त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्