यस्तो बन्दै छ सङ्घीय संसदको नयाँ भवन



०१ असोज २०७६, काठमाडौं

विगत एक दशकदेखि भाडामा बस्दै आएको सङ्घीय संसद् अबको तीन वर्षमा आफ्नै भवनमा बस्ने भएको छ ।
सिंहदरवार परिसर पुतली बगैँचामा बन्ने उक्त भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि अबको तीन वर्षमा संसद् आफ्नै भवनमा बस्ने भएको हो ।

विसं २०५५ बाट असार ८ गते तत्कालीन मन्त्रिपरिषद्ले भवन निर्माण गर्ने निर्णय गरेतापनि लामोसमयसम्म भवनको काम शुरु हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि दुई वर्षभित्रमा संसद् भवन बनाउने निर्णय गरेसँगै अहिलेको भवनको निर्माण शुरु गरिएको हो ।

कूल रु सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७३१ को लागतमा निर्माण हुने सो भवन मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित करीब रु नौ अर्ब ६० करोडमा निर्माण हुने भएको जनाइएको छ । भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित विभिन्न ११ किसिमका संरचना तयार हुनेछन् ।

विसं २०६४ देखि संसद् भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आइरहेको छ । त्यसभन्दा अगाडि सिंहदरबारको संसद् भवन भूकम्पका कारण भत्किएको छ । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा सिंहदरबारस्थित भवनमा तत्कालीन संविधानसभाका सदस्य नअटाउने भएपछि सम्मेलन केन्द्रमा बैठक बस्दै आइरहेको छ ।
शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले तीन वर्षभित्रमा भवन बनाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त भवन मुलुकको सवैभन्दा ठूलो भवनको रुपमा रहने छ । शहरी विकास र भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले संसद् सम्बन्धी सबै कार्य एकै थलोबाट गर्ने किसिमको भवन रहने बताउनुभयो ।

भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमल कक्ष, अति विशिष्ट व्यक्तिको लागि कार्यालय भवन, पुस्तकालय र सङ्ग्राहालय, संसदीय दलको कार्यालय, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस÷छपाइ र पार्किङ भवन रहने छन् ।

प्रतिक्रिया दिनुहोस्