‘बाढीपहिरोको सम्भावना छ, सचेत रहनुस्’



०१ असोज २०७६, काठमाडौं

सोमबारदेखि लगातार परेको वर्षाका कारण देशभर बाढीपहिरोको जोखिम बढेको उल्लेख गर्दै सर्वसाधारणलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाका अनुसार बुधबार कोसी, कमला, बाग्मती, नारायणी, पश्चिम राप्ती तथा यसका सहायक नदीमा बाढी आउन सक्ने सम्भावना रहेको छ। बाढीको बहाव सतर्कता आसपास पुग्ने सम्भावना रहेकाले उक्त नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै काठमाडौं उपत्यकासहित मकवानपुर, सिन्धुली, रसुवा, नुवाकोट, लमजुङ, कास्की, चितवन, नवलपरासीबाट बहने नदी/खोलामा पनि बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङजा, बागलुङ, पर्वत, म्याग्दी, दाङ, बर्दिया, प्युठान, रोल्पा तथा आसपासका नदी÷खोलामा पनि बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको सल्लाह दिएको छ।

यसैगरी प्रदेश ३ र गण्डकीको पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना रहेकाले होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज प्रदेश १, २ र सुदूरपश्चिमका तराई तथा चुरेबाट बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने र केही नदीमा जल सतह सतर्कता आपपास पुग्ने सम्भावना उल्लेख गर्दै बाढी पूर्वानुमान महाशाखाले सम्बन्धीत क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो।

मौसमविद्का अनुसार बुधबार देशभर वर्षा हुनेछ भने, काठमाडौं उपत्यकासहित देशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्