लुक्लामा ३०० पर्यटक अलपत्र



३१ भदौ २०७६, काठमाडौं

सोलुखुम्बुको चौँरीखर्कबाट पर्यटक लिएर काठमाडौं आउँदै गरेका १० वटा हेलिकप्टरमध्ये आठ वटा हेलिकोप्टर अझै बाटोमै रोकिएका छन्।

बिहान केहीबेर मौसम सफा हुँदा चौँरीखर्कको सुर्के पुगेर फर्किएका १० वटा हेलिकप्टर मौसम खराबीका कारण विभिन्न ठाउँमा अवतरण गराइएका थिए। बाटोमा अवतरण गरिएकामध्ये दुईवटा हेलिकप्टर काठमाडौं आइपुगेका त्रिभुवन विमानस्थलले जनाएको छ।

मौसम खराब हुँदा गएको शनिबारदेखि लुक्लामा उडान हुन सकेको छैन। लुक्लामा रोकिएका पर्यटक लिन सोमबार गएका आठ वटा हेलिकोप्टर मौसमका कारण ओखलढुंगाको रुम्जाटार विमानस्थलमै रोकिएका थिए।

मंगलबार बिहान केही बेर मौसम सफा भएको बेला लुक्लाभन्दा केही तल सुर्केबाट पर्यटक लिएर फर्कँदै गर्दा मौसमका कारण हेलिकप्टर काठमाडौं आइपुग्न नसेकका हुन्। अहिले सोलुखुम्बुको खरिखोलामा एक, सोलुखुम्बुकै बासामा दुई, काभ्रेको पाँचखालमा दुई, धुलिखेलमा एक रोशीखोलामा एक र रामेछापमा एउटा हेलिकप्टर रोकिएका छन्।

लुक्ला विमानस्थलमा उडान हुन नसक्दा लुक्लामा अहिले तीन सयभन्दा धेरै पर्यटक रोकिएका व्यवसायीहरुले बताएका छन्। मंगलबार मात्रै लुक्ला विमानस्थलमा ३० वटा उडान हुने तालिका रहेकोमा एउटा पनि उडान हुन नसकेको लुक्ला विमानस्थलका प्रमुख ईमनाथ अधिकारीले बताए।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा सडक यातायातको व्यवस्था नहुँदा मौसम प्रतिकूल हुनासाथ पर्यटक अलपत्र पर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्